Sunday, November 8, 2026
Homeसामाचारविजयादशमीमा आज टीका–जमरा ग्रहण, साइत बिहान ११ः५३ बजे उत्तम

विजयादशमीमा आज टीका–जमरा ग्रहण, साइत बिहान ११ः५३ बजे उत्तम

काठमाडौं । आज विजयादशमी, अर्थात् दुर्गापक्षको मुख्य दिन । यस अवसरमा नवदुर्गाको प्रसादस्वरूप मान्यजनको हातबाट रातो टीका र समृद्धिको प्रतीक जमरा ग्रहण गर्ने प्रचलन छ। दसैं घर वा पूजा कोठामा नौ दिनसम्म गरिएको पूजा–आराधनाको प्रसाद आज लगाइन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११ः५३ बजे टीका–जमरा ग्रहण गर्न उत्तम साइत रहेको छ। यद्यपि, विजया दशमी आफैंमा शुभ दिन भएकाले विशेष साइत नहेरी पनि टीका लगाउन सकिने परम्परा रहिआएको छ। आज बिहान ९ः२३ बजे देवी विसर्जनको साइत परेको समितिले जनाएको छ।

घटस्थापनाका दिन स्थापित घडामा वैदिक विधिपूर्वक अभिषेक गरी आज विजया दशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने यो पर्व असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक मानिन्छ।

आज टीका–जमरा ग्रहण गर्न नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका थाप्न सक्ने परम्परा छ। विजयादशमीलाई बडादसैंको सबैभन्दा महत्त्वपूर्ण दिनका रूपमा हर्षोल्लासका साथ मनाइन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका