गलकोट (बागलुङ), २१ साउन — विकास निर्माणमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै बागलुङ नगरपालिकालाई सम्मान गरिएको छ। विश्व बैंकको सहयोगमा नेपाल सरकारमार्फत प्राप्त रु ४८ करोडको अनुदानबाट थालिएका सडक निर्माण योजनामा उल्लेखनीय प्रगति गरेपछि बागलुङ नगरपालिकालाई काठमाडौँमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो।
नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने नगरपालिकाको रूपमा बागलुङलाई चयन गर्दै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नगरप्रमुख वसन्तकुमार श्रेष्ठलाई सम्मान गर्नुभएको हो।
तीन सडकमध्ये दुईको कालोपत्र सम्पन्न
अनुदानबाट बागलुङमा निर्माण भइरहेका तीन सडकमध्ये दुईवटा सडकको कालोपत्र सम्पन्न भइसकेको छ भने एक सडक अन्तिम चरणमा पुगेको छ।
बागलुङ नगरपालिका–४ को ओडारचौरदेखि ढोडेनीसम्मको २.२ किलोमिटर सडक
वडा नं. १ मा गणेशथान घुम्तीदेखि निरयघाटसम्मको १.५ किलोमिटर सडक
यी दुबै सडक माघदेखि चैतसम्म कालोपत्र सम्पन्न गरिएका हुन्।
तेस्रो सडकमा ७० प्रतिशत प्रगति
बागलुङ नगरपालिका–७ स्थित मूलपानीदेखि तितौरेसम्मको ८.६ किलोमिटर सडक हाल ग्राभेल सम्पन्न भइसकेको र निर्माणको ७० प्रतिशत प्रगति भएको इञ्जिनियर मनोज शर्माले जानकारी दिनुभयो। बर्खा सकिएलगत्तै उक्त सडक पनि कालोपत्र गरिनेछ।
उक्त अनुदान एकै पटक १७ नगरपालिकालाई प्रदान गरिएको थियो। तर कार्यसम्पादनको मूल्याङ्कनका आधारमा बागलुङ नगरपालिका उत्कृष्ट ठहरिएको हो।


