Sunday, November 8, 2026
Homeसामाचारवायुसेवा निगमद्वारा चीनको ग्वाञ्जाओ उडान सुरु

वायुसेवा निगमद्वारा चीनको ग्वाञ्जाओ उडान सुरु

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ। शनिबारदेखि काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ मार्गमा नियमित उडान सञ्चालन भएको हो।

निगमले असोज ९ गतेदेखि उडान सुरु गर्ने योजना बनाएको भए पनि प्राविधिक कारणले उद्घाटन उडान ढिलाइ भयो। ग्वाञ्जाओको उद्घाटन उडानमा सहभागी यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको अवस्थामा उडान रद्द भएपछि निगमले वैकल्पिक व्यवस्था गरेको थियो।

निगमका प्रवक्ता मनोजकुमार साहका अनुसार शनिबार दिउँसो काठमाडौँबाट ग्वाञ्जाओ उडेको विमान १०७ यात्रु लिएर आइतबार फर्किएको छ। अब निर्धारित तालिकाअनुसार नै नियमित उडान हुने उनले जानकारी दिए।

निगमले हप्तामा तीनवटा उडान गर्ने तालिका बनाएको छ। पहिलो नियमित उडान असोज १२ गते हुने र त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते समेत तय भइसकेको छ। त्यसपछि प्रत्येक आइतबार, मङ्गलबार र शनिबार काठमाडौँ–ग्वाञ्जाओ मार्गमा उडान हुनेछ। एकतर्फी टिकटको भाडा ३० हजार र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको छ।

हाल ग्वाञ्जाओ मार्गमा चीनको चाइना साउदर्न एयरलाइन्सले नियमित उडान गर्दै आएको छ भने नेपालतर्फबाट हिमालय एयरलाइन्सले पनि सेवा दिइरहेको छ। नेपाली समुदायको बाक्लो उपस्थिति रहेको ग्वाञ्जाओ उडानले नेपाल एयरलाइन्सलाई आर्थिक लाभ हुने अपेक्षा गरिएको छ।

ग्वाञ्जाओसम्मको नयाँ उडानसँगै नेपाल एयरलाइन्सले नौ देशका ११ अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गरेको छ। हाल निगमसँग दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत कतार (दोहा), मलेसिया (क्वालालम्पुर), संयुक्त अरब इमिरेट्स (दुवई), हङकङ, भारत (दिल्ली, मुम्बई, बैङ्गलोर), थाइल्याण्ड (बैंकक), साउदी अरब (दमाम) र जापान (नारिता) मा उडान भैरहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका