काठमाडौँ, १८ साउन— देशका विभिन्न स्थानमा जारी वर्षाका कारण प्रमुख नदीहरूको जलसतहमा उल्लेख्य वृद्धि भएको भन्दै जल तथा मौसम विज्ञान विभागले नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार भक्तपुरको हनुमन्ते खोलामा कौशलटारस्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तहको आसपास पुगेको छ र अझै बढ्ने संकेत देखिएको छ। नदी किनारमा बसोबास गर्ने तथा नदी छेउ यात्रा गर्ने व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्ने विभागको अनुरोध छ।
त्यस्तै, रुकुमपश्चिमको ठूलो भेरी नदीमा रिम्ना जलमापन केन्द्रमा पनि जलसतह सतर्कता सीमासम्म पुगेको छ। डुबान हुने होचा भूभागहरूमा जोखिम बढेको भन्दै स्थानीय बासिन्दालाई विभागले सतर्क रहन आग्रह गरेको छ।
यसैगरी, म्याग्दी जिल्लाको म्याग्दी खोलामा मङ्गलाघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गर्ने क्रममा रहेको छ। नदी किनार क्षेत्र, कमजोर भूगोल र भिरालो जमिनमा पहिरोको जोखिम बढेको हुँदा सो क्षेत्रमा विशेष सावधानी आवश्यक रहेको विभागले मध्यरातमा सूचना जारी गर्दै जानकारी गराएको हो।
विभागले आवश्यक परेमा स्थानिय प्रशासनको समन्वयमा सुरक्षाका उपायहरू अपनाउन र जोखिमयुक्त स्थानहरूमा सतर्कता बढाउन समेत आग्रह गरेको छ।


