Thursday, May 7, 2026
Homeराजनीतिवर्षमान पुनको प्रशंसा— स्वर्णिम वाग्लेका आर्थिक सुधार कदमलाई समर्थन

वर्षमान पुनको प्रशंसा— स्वर्णिम वाग्लेका आर्थिक सुधार कदमलाई समर्थन

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि अघि सारेका कदमहरूको प्रशंसा गरेका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ का सिफारिसहरू कार्यान्वयन गर्ने वाग्लेको प्रतिबद्धताको खुलेर स्वागत गरेका हुन्।

पुनले आफू अर्थमन्त्री रहेका बेला आर्थिक वर्ष ०८१/०८२ को बजेटमार्फत उच्च आर्थिक वृद्धिका लागि सम्भावित क्षेत्रहरूको पहिचान गर्दै नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अघि बढाउने तथा लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले उक्त आयोग गठन गर्ने घोषणा गरेका थिए।

सोहीअनुसार निवर्तमान अर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा आयोग गठन गरिएको थियो। आयोगले लगानी वृद्धि र अर्थतन्त्र सुधारमा बाधा पुर्‍याउने भन्दै १५ वटा ऐन खारेज गर्न तथा राजश्व अनुसन्धान विभाग खारेज गर्न सुझाव दिएको थियो।

शुक्रबार अर्थमन्त्रीमा नियुक्त भएपछि पदभार ग्रहण गर्दै वाग्लेले आयोगका ती सुझावहरू कार्यान्वयन गर्ने निर्णय गरेका हुन्।

पुनले आफ्नो वक्तव्यमा आर्थिक विकासका लागि अवरोधक बनेका असान्दर्भिक ऐनहरू खारेज गर्ने निर्णय स्वागतयोग्य भएको उल्लेख गर्दै वाग्लेलाई धन्यवाद तथा बधाई दिएका छन्।

साथै, उनले पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्यको हैसियतमा मुलुकको आर्थिक विकासका लागि सरकारले गर्ने सकारात्मक प्रयासहरूमा आफू सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका