सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट (भाइसाब) को ७८ वर्षको उमेरमा निधन भएको छ । भीमदत्त नगरपालिका–१८ कटानस्थित आफनै निवासमा आइतबार राति उनको निधन भएको हो । साहित्यकार भट्ट लामो समयदेखि अस्वस्थ्य रहँदै आएका थिए ।
भट्टको निधनले सुदूरपश्चिमको लोक साहित्य र शिक्षा क्षेत्रका धरोहर गुमाएको सुदूरपश्चिम विश्वविद्यालय पूर्व व्यवस्थापन सङ्कायका डिन भारती जोशीले बताइन् । “साहित्यकार भट्टको लोक साहित्य र लोक संस्कृति संरक्षणमा ठूलो योगदान रहेको छ”, उनले भनिन्, “सुदूरपश्चिमको लोक साहित्यमा गहिरो अभिरुचि राख्नेमा उहाँ अग्रपङ्क्तिमा हुनुहुन्थ्यो ।”
सुदूरपश्चिमको साहित्य, शिक्षा, समाजसेवा, राजनीति र मानवाधिकारका क्षेत्रमा समेत भट्टको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ । सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा समेत भट्टको ठुलो योगदान रहेको छ । भट्ट साहित्यकारका रुपमा मात्रै नभएर मानव अधिकारकर्मीका रुपमा समेत परिचित रहेका थिए । उनी महाकाली साहित्य सङ्गमका संस्थापक अध्यक्षसमेत रहेका थिए ।


