जनकपुरधाम । जनकपुरका वरिष्ठ साहित्यकार तथा प्राध्यापक प्रा.डा. राजेन्द्र विमलको ७९ वर्षको उमेरमा निधन भएको छ। उनको गएराति प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको हो।
परिवारका अनुसार राति घरमै नातिसँग खेलिरहेका बेला अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि अस्पताल लगिएको थियो। उपचारका क्रममा अक्सिजनको मात्रा घट्दै गएपछि राति करिब १ बजे उनको निधन भएको छोरा विभास लाभले जानकारी दिए।
डा. विमलको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि जनकपुरधाम–१०, देवीचोकस्थित निजी निवासमा राखिएको छ। उनको आजै स्वर्गद्वारीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।
लामो समय अध्यापन पेसामा सक्रिय रहेका डा. विमलले विज्ञान विषयमा विद्यावारिधी गरेका थिए। उनले नेपाली, हिन्दी र अंग्रेजी विषयमा स्नातकोत्तरसमेत गरेका थिए।
बाल्यकालदेखि नै साहित्यप्रति रुचि राख्दै आएका उनले नेपाली तथा मैथिली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएका थिए। उनका विभिन्न कथा, नाटक तथा लघुकथा प्रकाशित छन्।
नेपाली तथा मैथिली भाषाको साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई २०६६ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मानित गरिएको थियो।


