Saturday, November 7, 2026
Homeसामाचारलाइसेन्स भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा अख्तियारको छापा

लाइसेन्स भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा अख्तियारको छापा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी भ्रष्टाचार प्रकरणको अनुसन्धानका क्रममा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेको छ।

आयोगका अनुसार कार्यालय प्रमुखसहित विभिन्न व्यक्तिहरूको मोबाइल फोन र कागजातहरू बरामद गरिएको छ। अख्तियारको टोलीले आज छापा मारेर उक्त सामग्रीहरू नियन्त्रणमा लिएको जानकारी विज्ञप्तिमार्फत दिएको हो।

अख्तियारले दिएको विवरणअनुसार यातायात व्यवस्था कार्यालय चाबहिलमा कार्यरत कार्यालय प्रमुखसहित अन्य कर्मचारीहरूले बिचौलियामार्फत लिखित परीक्षामा अनुतीर्ण भएका सेवाग्राहीहरूलाई खोजी गरी प्रत्येक व्यक्तिबाट ५ हजारदेखि १० हजार रुपैयाँसम्म रकम असुल गर्ने गरेको पाइएको छ। अनुतीर्ण भएको तीन महिने अवधि नपुग्दै पुनः आवेदन दर्ता गराई लिखित परीक्षामा सहभागी गराएको उजुरी तथा सूचनाका आधारमा आयोगले छानबिन सुरु गरेको हो।

छानबिनका क्रममा कार्यालय प्रमुख अधिकृत पेशल कुमार पोखरेलसहित सोही कार्यालयका १७ जना कर्मचारीका २५ थान मोबाइल फोन बरामद गरिएको छ। साथै उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित तीन जनाका तीन थान मोबाइल फोन पनि नियन्त्रणमा लिइएको छ।

त्यस्तै नेपाल ड्राइभिङ एण्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित सात जनाको एक थान मोबाइल फोन बरामद गरिएको आयोगले जनाएको छ। लिखित परीक्षा दिई फेल भएको मितिले तीन महिना नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीका उत्तरपुस्तिकासहितका कागजातहरू पनि आयोगले जफत गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका