लमजुङ: लमजुङमा यसवर्ष धान उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। अनुकूल मौसम र उन्नत जातका धानका बीउ प्रयोगलगायत कारणले उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ।
कृषि प्रसार अधिकृत सरोज थापाका अनुसार चालु आर्थिक वर्षमा ९,३०१ हेक्टर क्षेत्रमा धानखेती गरिएको थियो, जसबाट ३१,१५८ मेट्रिकटन धान उत्पादन भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २,५११ मेट्रिकटनले बढी हो। गत वर्ष सोही क्षेत्रफलमा २८,६४७ मेट्रिकटन मात्र उत्पादन भएको थियो।
केन्द्रले अघिल्लो केही वर्षका धान उत्पादन तथ्यांकहरू पनि सार्वजनिक गरेको छ। आव २०७९/८० मा ३०,९८६ मेट्रिकटन, आव २०७८/७९ मा ३०,६९८ मेट्रिकटन उत्पादन भएको थियो। त्यस्तै, आव २०७७/७८ मा ४४,४२५ मेट्रिकटन, आव २०७६/७७ मा ४४,१५५ मेट्रिकटन, आव २०७५/७६ मा ४४,५४५ मेट्रिकटन, र आव २०७४/७५ मा ४३,८३० मेट्रिकटन धान उत्पादन भएको थियो।
जिल्लामा “साबित्री,” “रामधान,” “सुक्खा–१,” “सुक्खा–२,” “सुक्खा–३,” “लोकतन्त्र,” र “सुनौलो सुगन्ध” जस्ता उन्नत जातका धानको खेती प्रचलित छ।
धान उत्पादनमा भएको यो वृद्धिले कृषकहरूलाई थप हौसला प्रदान गर्ने विश्वास गरिएको छ।


