Saturday, June 27, 2026
Homeअर्थ र ब्यापारलगानी सम्भाव्यता खोज्दै कोरियाली टोली झापामा

लगानी सम्भाव्यता खोज्दै कोरियाली टोली झापामा

झापा: कोशी प्रदेशमा आगामी वैशाख १७ र १८ गते आयोजना हुने लगानी सम्मेलनलाई लक्षित गर्दै दक्षिण कोरियाका लगानीकर्ताहरूको एक टोली अध्ययन भ्रमणका लागि झापा आएको छ।

कोरिया नेपाल अन्तर्राष्ट्रिय एक्स्चेन्ज एसोसिएसनको पहलमा आएको टोलीले झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा लगानी सम्भाव्यता अध्ययन गर्ने योजना बनाएको एसोसिएसनकी अध्यक्ष सिर्जना नेपालीले जानकारी दिनुभयो। यस क्रममा, बुधबार मेचीनगर नगरपालिकाले उक्त टोलीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो।

मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा रहेका सम्भावित लगानी क्षेत्रबारे टोलीलाई जानकारी गराउँदै लगानीको अवसरहरूबारे प्रकाश पार्नुभयो। सोही दिन कोरियन टोलीले काँकरभिट्टा नाका, बसपार्क, एसियन हाइवेको मेची पुल, एनएमसी डेरी उद्योग लगायतका क्षेत्रको अवलोकन गरेको थियो। टोलीले कृषि, पर्यटन, कागज उद्योग, रेलमार्ग लगायतका क्षेत्रमा कोरियाली लगानीकर्ताहरूको विशेष रुचि रहेको जानकारी गराएको छ।

काँकरभिट्टामा प्रस्तावित बहुतले बहुउद्देश्यीय बसपार्क निर्माण, जैविक जीवाणु प्राङ्गारिक मल कारखाना स्थापनालगायत परियोजनाहरूमा लगानी सम्भाव्यता बारे छलफल भएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो। टोलीले कृषि उत्पादनमा प्रविधिको विकास, प्रविधिमैत्री कृषि प्रणाली तथा दक्ष जनशक्ति उत्पादनका विषयमा पनि चासो व्यक्त गरेको छ।

छलफलमा कोरिया नेपाल अन्तर्राष्ट्रिय एक्स्चेन्ज एसोसिएसन नेपालका राष्ट्रिय प्रतिनिधि प्रदीप घिमिरे, उद्योगी मेदनी अधिकारी, युवराज अधिकारीलगायतले नेपालमा लगानीका प्रशस्त अवसर रहेको औंल्याउँदै सरकारले अनुकूल नीति तथा कार्यक्रम ल्याउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका