काठमाडौं । खुला सीमाका कारण सुरक्षा र तस्करीको दृष्टिले संवेदनशील मानिने रौतहटमा नेपाल प्रहरीले सीमा सुरक्षा र अवैध कारोबार नियन्त्रणका लागि निगरानी तथा गस्तीलाई थप प्रभावकारी बनाएको जनाएको छ।
गृहमन्त्रीले हालै बारा र पर्सा जिल्लाको सीमा क्षेत्रको अनुगमन गर्दै तस्करी नियन्त्रण र शान्तिसुरक्षा सुदृढ बनाउन निर्देशन दिएपछि रौतहट प्रहरीले सुरक्षा व्यवस्थामा थप कडाइ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार जिल्लाका संवेदनशील क्षेत्रहरूको पहिचान गरी रणनीतिक रूपमा हरेक पाँच किलोमिटरको दूरीमा प्रहरी पोस्ट वा मोबाइल गस्तीको व्यवस्था गरिएको छ। जिल्ला प्रहरी कार्यालय गौरको समन्वयमा चन्द्रनिगाहापुर र गरुडास्थित प्रहरी कार्यालयसहित १० इलाका प्रहरी कार्यालय तथा अन्य प्रहरी पोस्टमा करिब ९०० प्रहरी परिचालन गरिएको उनले बताए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार रौतहटसँग सीमा जोडिएका बारा, पर्सा र सर्लाहीका सुरक्षा निकायसँग नियमित सूचना आदानप्रदान र अन्तरजिल्ला समन्वयलाई समेत प्रभावकारी बनाइएको छ।
प्रहरीले सीमा क्षेत्रमा अवैध ओसारपसार र तस्करी नियन्त्रणका लागि निगरानी बढाएसँगै भन्सार छलीका विभिन्न सामान बरामद हुने क्रम बढेको जनाएको छ। यसबाट भन्सार राजस्व संकलनमा समेत सकारात्मक प्रभाव परेको सम्बन्धित निकायले जनाएको छ।
हाल सरमुजवा (बंकुल), मोतिपुर नरकटिया, रामपुरखात, जयनगर, मठिया, औरैया, बजरहा, अमरपट्टि, गौर भन्सार र बेलबिचवा लगायतका सीमा क्षेत्रका इलाका प्रहरी कार्यालय तथा मातहतका प्रहरी पोस्टहरूले चौबीसै घण्टा गस्ती र चेकजाँच सञ्चालन गरिरहेका छन्।
यसैबीच, रौतहटसँग जोडिएको बारा जिल्लाको सिम्रौनगढ क्षेत्रमा पनि सुरक्षा निगरानी कडा पारिएको छ। इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णादेव साहका अनुसार कचौरवा, अडुवा खोला, पचरौता, पिपरपाटी र घाटटोला लगायतका सीमा नाकामा निगरानी बढाइएको छ।
उनका अनुसार पछिल्लो आठ महिनामा मात्रै करिब एक करोड १० लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि पथलैया भन्सार कार्यालयमा बुझाइएको छ। यसमध्ये गत शनिबार मात्रै करिब ३० लाख ९० हजार रुपैयाँ बराबरका कपडा, खाद्यान्न तथा विद्युतीय सामग्री बरामद गरिएको थियो।
रौतहटको दक्षिणी सीमा भारतको बिहार राज्यअन्तर्गत सीतामढी र पूर्वी चम्पारण जिल्लासँग जोडिएको छ। खुला सीमाका कारण विगतदेखि भन्सार छली, लागुऔषध ओसारपसार तथा साना हतियारको अवैध कारोबार सुरक्षा चुनौतीका रूपमा रहँदै आएको छ।
प्रहरीले हाल ‘जिरो टोलरेन्स’ नीति अनुरूप समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई समेत प्रभावकारी बनाउँदै स्थानीय नागरिकको सहभागितामा सूचना संकलन र अपराध नियन्त्रणलाई प्राथमिकता दिएको जनाएको छ।


