Friday, May 8, 2026
Homeसामाचाररौतहटमा नीलगाईको आतङ्क: किसानका गहुँ, तोरी र तरकारी बाली नष्ट

रौतहटमा नीलगाईको आतङ्क: किसानका गहुँ, तोरी र तरकारी बाली नष्ट

रौतहट । रौतहटको मध्य तथा दक्षिणी भेगमा पर्ने बौधिमाई र मौलापुर नगरपालिकाका किसानहरू यतिबेला जङ्गली जनावर नीलगाई (घोडगदा)को आतङ्कका कारण ठूलो सास्ती खेपिरहेका छन्। पछिल्लो समय यी क्षेत्रमा नीलगाईको सङ्ख्या र सक्रियता बढेसँगै किसानले लगाएका नगदे तथा खाद्यान्न बालीमा ठूलो क्षति पुगिरहेको छ।

स्थानीय किसानका अनुसार नीलगाईको बथान नै खेतमा पसेर गहुँ, मुसुरो (दलहन), तोरी (तेलहन) तथा मौसमी तरकारी बाली नष्ट गरिरहेका छन्। नीलगाईले बाली खाने मात्र होइन, खेतमा दौडेर र कुल्चेर बिरुवाहरू सखाप पार्ने गरेको किसानहरूको गुनासो छ।

बौधिमाई नगरपालिकाका किसान विजय साह भन्छन्, “दिनरात पसिना बगाएर हुर्काएको गहुँ र तरकारी एकै रातमा नीलगाईले सखाप पारिदिन्छ। बिहान खेतमा जाँदा सबै नष्ट भएको देख्दा मन नै रुन्छ। यसपालि घर खर्च कसरी चलाउने भन्ने चिन्ताले सताएको छ।”

पछिल्लो समय नीलगाई बिहान सबेरै र दिउँसोसमेत निर्धक्क गाउँ नजिकका खेतमा आउन थालेका छन्। मौलापुर नगरपालिकाका विभिन्न टोलका किसानहरू अहिले आफ्नो बाली जोगाउन लाठी र टर्च बोकेर रातभर खेतमै जाग्राम बस्न बाध्य भएका छन्।

कतिपय किसानले खेत वरिपरि जाली वा झुल लगाएर छेक्ने प्रयास गरे पनि नीलगाईको बथानले सजिलै भत्काएर भित्र पस्ने गरेको स्थानीयको भनाइ छ।

नीलगाईको समस्या बढेपछि किसानहरूले स्थानीय सरकार र डिभिजन वन कार्यालयलाई जानकारी गराए पनि हालसम्म प्रभावकारी पहल नभएको उनीहरूको आरोप छ। स्थानीय किसान कृष्ण दयाल भन्छन्, “हामीले कति दिनसम्म खेतमै सुतेर बाली कुरिरहने? वन कार्यालय र नगरपालिकाले क्षतिपूर्ति र सुरक्षाका लागि उचित व्यवस्था मिलाइदिनुपर्छ।”

वन क्षेत्रबाट आउने यी जनावरको सङ्ख्या बढ्दै जाँदा किसानहरू कृषि पेशाबाटै पलायन हुनुपर्ने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरिएको छ। वन ऐन तथा वन्यजन्तु संरक्षणसम्बन्धी नियमका कारण किसानहरूले चाहेर पनि यी जनावरलाई नियन्त्रण गर्न कठिनाइ हुने गरेको उनीहरूको भनाइ छ।

स्थानीयले नीलगाई नियन्त्रण गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न वा खेतको घेराबन्दीका लागि सहयोग गर्न सरकारसँग माग गरेका छन्। समयमै समस्या समाधान नगरे रौतहटमा कृषि उत्पादन घट्ने र किसान ऋणको चपेटामा पर्ने अवस्था आउन सक्ने स्थानीयको चिन्ता छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका