काठमाडौं । अविरल वर्षापछि उर्लिएको रोशी खोलामा जबर्जस्ती सवारी साधन हालेर यात्रुको ज्यान जोखिममा पार्ने पाँचजना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मङ्गलबार साँझदेखि परेको वर्षाका कारण खोलाको बहाव बढेका बेला सुरक्षा निकायको निर्देशन अवज्ञा गर्दै खोला पार गर्न खोज्दा पाँच वटा माइक्रोबस बाढीको बीचमै फसेका थिए।
घटना काभ्रेको रोशी गाउँपालिका–७ स्थित घुमाउने चारसय वेशीमा भएको हो। पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका ती माइक्रोबसमा सवार ८९ जना यात्रुहरू खोलाको बीचमा अलपत्र परेपछि स्थिति जटिल बनेको थियो।
घटनाको जानकारी पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल को संयुक्त टोली उद्धारका लागि खटिएको थियो। कठिन प्रयासपछि बुधबार बिहान करिब १ बजे सबै यात्रुलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक रविन विष्ट ले जानकारी दिनुभयो।
उद्धार कार्यका क्रममा सुरक्षा निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी साधन अगाडि नबढाउन स्पष्ट निर्देशन दिएका थिए। तर, ती चालकहरूले चेतावनी बेवास्ता गर्दै लापरवाहीपूर्वक बाढीमा गाडी हाँकेका थिए।
“यात्रुहरूको ज्यान र धनमा गम्भीर जोखिम पुर्याएको र सुरक्षा निकायको निर्देशन पनि पालना नगरेकाले पाँचवटै माइक्रोबसका चालकलाई नियन्त्रणमा लिएका हौँ,” डीएसपी विष्टले भन्नुभयो।
पक्राउ परेका चालकहरूलाई हाल जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखिएको छ। उनीहरूमाथि लापरवाहीपूर्वक सवारी चलाएर ज्यान जोखिममा पारेको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वर्षायाममा बाढी तथा पहिरोको उच्च जोखिम रहने भएकाले सुरक्षाकर्मीको निर्देशन पालना गर्न र जोखिमपूर्ण यात्रा नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।


