Saturday, November 7, 2026
Homeसामाचाररोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तिनजनाको मृत्यु, बेपत्ताहरुको खोजीकार्य जारी

रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तिनजनाको मृत्यु, बेपत्ताहरुको खोजीकार्य जारी

रामेछाप । दोलखाको रोल्वालिङ हिमशृङखलामा गएको भीषण हिमपहिरोमा परी हराइरहेका चार जनाको आज बिहान उद्धार गरिएको छ। उद्धार गरिएका सबैजना घाइते अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।

दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार, हाइ अल्टिच्युड हेलिकोप्टरमार्फत दुई जना विदेशी र दुई जना नेपाली पथप्रदर्शकलाई आज बिहान यलुङ री हिमालको आधार शिविर नजिकैबाट उद्धार गरिएको हो। हिमपहिरोस्थल नजिकैबाट चार जनालाई घाइते अवस्थामा उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको उनले जानकारी दिए।

त्यस्तै, हिमपहिरोबाट जोगिएका थप तीन जना नेपाली पथप्रदर्शकलाई दोलखाको ना गाउँमा सुरक्षित राखिएको छ। उनीहरूलाई पनि शीघ्र उद्धार गरी चरिकोट ल्याउने तयारी भइरहेको प्रशासनले जनाएको छ।

रोल्वालिङ हिमशृङखलाको डोल्मा खाङ (६,३३२ मिटर) र यलुङ री (५,६३० मिटर) हिमाल आरोहणका लागि आइतबार पाँच विदेशीसहित १५ जना आरोही टोली आधार शिविर पुगेका थिए। बाक्लो हिमपातका कारण उनीहरूले त्यहीँ टेन्ट टाँगेर रात बिताएका थिए। सोमबार बिहान आरोहण सुरु गर्ने तयारीमै रहेका बेला आकस्मिक रूपमा हिमपहिरो खसेपछि उनीहरू त्यसमा परेका थिए।

हिमपहिरोमा पुरिएर एक विदेशीसहित तीन जनाको हिजै मृत्यु भएको पुष्टि भएको छ भने अझै पाँच जना बेपत्ता रहेका छन्। हराइरहेका व्यक्तिहरूको खोजी कार्य अहिले पनि जारी छ।

उद्धार तथा खोजी कार्यमा नेपाली सेनाको टोली, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मीहरू परिचालन गरिएको छ। टोली हाल ना गाउँ हुँदै हिमपहिरो गएको स्थानतर्फ अघि बढिरहेको छ, तर दुर्गम भौगोलिक स्थिति र प्रतिकूल मौसमका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।

दुई छुट्टाछुट्टै ट्राभल कम्पनीमार्फत पुगेका आरोही समूहहरू डोल्मा खाङ र यलुङ री दुवै हिमाल आरोहणका तयारीमा रहेका थिए। तर सोमबार बिहानै आकस्मिक रूपमा गएको हिमपहिरोले उनीहरूलाई क्षति पुर्‍याएको हो।

स्थानीय प्रशासनले प्रतिकूल मौसमका कारण हिमाली क्षेत्रमा रहेका आरोही तथा पर्यटकहरूलाई अत्यधिक सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविद्हरूका अनुसार पछिल्ला दिनहरूमा उच्च हिमाली भूभागमा लगातार बाक्लो हिमपात भइरहेको छ, जसले हिमपहिरोको जोखिम अझ बढाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका