काठमाडौं । नारायण चौरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको रैथाने मौलिक खाद्य स्वच्छता मेलामा महानगरबासीको उल्लेख्य सहभागिता देखिएको छ। ३१ औँ महानगर दिवसको अवसरमा खाद्य सेवालाई गुणस्तरीय बनाउने, सहभागिता बढाउने र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस मेलामा विभिन्न समुदायका परिकारप्रति आगन्तुकको विशेष चासो देखिएको हो।
मेलामा ४९ वटा खानाका स्टल राखिएका थिए। नेवारी समुदायका चटामरी, झुकु, चाकु यमरी, खुवा यमरी, छोइला, अण्डा बारा, मिक्स बारा, फोक्सो, मःम, समयबजी, हाकु छोयला, आलु अचार र मस्यौरा छोयला जस्ता परिकारले आगन्तुकको ध्यान खिचेका थिए।
यसैगरी लिम्बू समुदायका सेर्गेम्बा, याङ्बेन सेट, फाक्सा सेट, गुन्द्रुकको अचार, वाम्युक फिलिङ्गे अचार, चाम्रे सेट लगायतका परिकारसमेत मेलामा प्रस्तुत गरिएको थियो। साथै फापरको फुलौरा, मकैको फ्याप्लो, कोदोको रोटी, अनादी मसला, बट्टाइ तारेको तथा कुराउनीका परिकारले मेलाको स्वाद थपेका थिए।
पूर्वी तराईका राजवंशी समुदायले बिहानको खाजाका रूपमा खाने भक्का पनि मेलाको प्रमुख आकर्षण बन्यो। जनकपुरको तावा माछा, खट्टेको भुजा, मुलाको अचार र लोकल टमाटरको चट्नी सेटको स्वाद लिन आगन्तुकहरू उत्साहित देखिन्थे।
मेलामा काठमाडौं महानगरपालिकाभित्रका २४ वटा वडा तथा अन्य खाद्य र आतिथ्यता सेवा क्षेत्रका स्टलहरू सहभागी थिए। कृषि तथा पशुपन्छी विभागकी फुड टेक्नोलोजिष्ट भारती अधिकारीका अनुसार प्रत्येक स्टलमा करिब ५ सय जनाले परिकारबारे जानकारी लिएका थिए भने केही स्टलले ५० हजार रुपियाँसम्मको बिक्री गरेका छन्।


