काठमाडौँ — केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रेमिटेन्स कारोबारका क्रममा प्रभु बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी नोक्सानी पुर्याएको आरोपमा बैंकका विप्रेषण विभाग प्रमुख सुजिन शाक्यलाई पक्राउ गरेको छ ।
सीआईबीको टोलीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई ललितपुर महानगरपालिका–११, ईखांछेबाट शाक्यलाई पक्राउ गरेको हो । ब्यूरोका अनुसार शाक्यले रेमिटेन्स कारोबारमा बैंकलाई हानि हुने र आफ्नो स्वार्थ समूहअन्तर्गतको प्रभु मनी ट्रान्सफरलाई लाभ हुने गरी बैंकिङ कसुर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कानुनले व्यवस्था गरेको रेमिटबापतको ‘प्रिफण्डिङ’ सुविधा दुरुपयोग गर्दै नियमविपरीत अर्बौँ रुपैयाँ उपलब्ध गराइएको र त्यसवापत नियमानुसार ब्याज समेत नलिइएको हुँदा प्रभु बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी नोक्सानी भएको सीआईबीको दाबी छ ।
यसै प्रकरणमा सीआईबीले यसअघि नियमविपरीत ‘सुपर एजेन्ट’ बनाएर रेमिटेन्स कारोबार गर्न प्रभु म्यानेजमेन्ट प्रालिलाई अग्रिम रकम दिएको र कारोबार स्थगित भइसके पनि सो रकम स्वार्थ समूहले प्रयोग गर्न दिएको आरोपमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित उच्च पदस्थ कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।


