फुङ्लिङ, ताप्लेजुङ: फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ।
वन्यजन्तुमैत्री वातावरण निर्माण गर्दै गोठ व्यवस्थापनमा सहयोग पुर्याउन र कुकुर नियन्त्रणको उद्देश्यले रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले सोलार प्यानल प्रदान गरेका हुन्।
मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार शनिबार हर्कटे गोपाला समूहमा आबद्ध ११ घुम्ती गोठका किसानलाई प्रतिप्यानल रु १३ हजार मूल्य बराबरका ११ सोलार प्यानल वितरण गरिएको छ। हर्कटे रेडपाण्डाको मुख्य बासस्थान भएकाले, त्यहाँका रेडपाण्डालाई राति अन्य जनावरको आक्रमणबाट जोगाउन सोलार प्यानल सहयोग गरिएको हो।
लामो समयदेखि गोठमा अन्धकारमा जीवन बिताएका किसान सोलार प्यानल पाएपछि उत्साहित छन्। “६५ वर्षसम्म अन्धकारमै बस्यौँ, आज उज्यालोमा बस्न पाउँदा अत्यन्तै खुसी छौँ,” सन्तबहादुर विष्टले खुशी व्यक्त गर्नुभयो।


