Saturday, April 18, 2026
Homeसामाचाररेडपाण्डा महोत्सव सफल: सन्दकपुरमा ‘रेडपाण्डा पर्यटन’ नयाँ ब्राण्ड बन्दै

रेडपाण्डा महोत्सव सफल: सन्दकपुरमा ‘रेडपाण्डा पर्यटन’ नयाँ ब्राण्ड बन्दै

इलाम । विश्व रामसार सूचीमा सूचीकृत माईपोखरी र सन्दकपुर डाँडालगायत प्रमुख पर्यटकीय गन्तव्य समेटिएको सन्दकपुर गाउँपालिकामा आयोजित तेस्रो रेडपाण्डा महोत्सव उपलब्धिमूलक बनेको छ। गाउँपालिकाको पर्यटन पात्रोअनुसार चैत्र २० देखि २३ गतेसम्म महोत्सव आयोजना गरिएको थियो।

महोत्सवको मुख्य उद्देश्य माईपोखरी–ढापपोखरी–जौबारी जोड्ने पदमार्गलाई सक्रिय बनाउनु हो। यसअघि अलपत्र रहेको पदमार्गलाई प्रवद्र्धन गर्न २०८० सालमा पहिलो पटक पदयात्रामा आधारित महोत्सव आयोजना गरिएको थियो। सोही क्रममा पदमार्गलाई ‘रेडपाण्डा पदमार्ग’ नामकरण गरिएको हो।

पहिलो संस्करणदेखि नै नेपाल र भारतका पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा जनप्रतिनिधिको सहभागिताले सन्दकपुरका पर्यटकीय गन्तव्यको व्यापक प्रचार भएको थियो। ५० किलोमिटर लामो यो पदमार्ग चार दिनमा पूरा गर्न सकिने र यस क्षेत्रमा १५ भन्दा बढी आकर्षक गन्तव्य तथा भ्यू–पोइन्ट रहेको अध्ययनले देखाएको छ।

दोस्रो संस्करणमा विभिन्न संघसंस्था र अन्तर्राष्ट्रिय निकायको सहकार्य बढ्दै गएको थियो। रेडपाण्डा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समुदायको सक्रियता बढेको देखिन्छ। स्थानीय बासिन्दाले होमस्टे सञ्चालन गर्दै आयआर्जन गर्न थालेका छन् भने वन्यजन्तु पर्यटनमा नयाँ व्यवसायी पनि आकर्षित भएका छन्।

महोत्सवले सन्दकपुर क्षेत्रमा पर्यटकको आकर्षण बढाएको छ। विशेषगरी रेडपाण्डा अवलोकनका लागि आउने पर्यटकको संख्या वृद्धि भएको छ। पहिले भारतीय बाटो प्रयोग गर्ने पर्यटकहरू अहिले नेपाली मार्ग हुँदै सन्दकपुर पुग्न थालेका छन्, जसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ।

तेस्रो संस्करणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पर्यटन प्रवद्र्धक, संरक्षणकर्मी र संस्थाहरूको उल्लेख्य सहभागिता रहेको थियो। यसले ‘रेडपाण्डा पर्यटन’लाई नयाँ ब्राण्डका रूपमा स्थापित गर्न थप बल पुगेको सरोकारवालाहरू बताउँछन्।

स्थानीय तहका अनुसार रेडपाण्डा संरक्षणसँगै पर्यटन विकासलाई जोडेर सन्दकपुरलाई वनजंगल पर्यटनको प्रमुख गन्तव्य बनाउने लक्ष्य राखिएको छ। चरा, वन्यजन्तु र हिमश्रृंखलाको दृश्यावलोकनका लागि उपयुक्त क्षेत्र भएकाले सन्दकपुरमा पर्यटनको सम्भावना उच्च रहेको विज्ञहरू बताउँछन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका