रुसले मस्कोस्थित अफगानिस्तानको दूतावासमा इस्लामिक इमिरेट्सका कूटनीतिज्ञलाई स्विकार गरिसकेको छ । र अब रुसी विदेशमन्त्री लाभरोभले इस्लामिक इमिरेट्सले अफगानिस्तानमा समावेश सरकार स्थापना गरेर रुसले उसलाई पूर्ण कूटनीतिक मान्यता दिनेतर्फ कदम बढाउने बताएका छन् ।
रुसका विदेशमन्त्रीले भनेका छन्, ‘हालको सरकारमा इस्लामिक इमिरेट्का सबै सदस्य छन् र हालको कार्यवाहक सरकार आफ्नो मन्त्रीमण्डललाई कसरी समावेशी बनाउँछ र कस्तो नीति अपनाउँछ, मस्कोको अर्को कदम यसबाटै निर्धारित हुनेछ ।’
उनले थपे, ‘हामी अफगानिस्तानमा नयाँ अधिकारीलाई पूर्ण कूटनीतिक मान्यता दिने दिशामा काम गर्न चाहन्छौँ र सरकार बन्नु अघि उनीहरुले जे बचन दिएका थिए, उनीहरुले त्यो पनि पूरा गर्नेछन् भन्ने कुरामा आशा राख्छौँ । उनीहरुले हरेक स्तरका नागरिकलाई सरकारको हिस्सा बनाउनेछन् भन्ने कुरामा पनि म आशावादी छु ।’
रुसका विदेशमन्त्रीले दिएको जानकारी अनुसार रुस कूटनीतिक माध्यमले लगातार इस्लामिक इमिरेट्ससँगको सम्पर्कमा छ ।
लावरोफले जोड दिँदै भने, ‘हामी हाम्रो दूतावासको माध्यमले तालिबानको नियमित सम्पर्कमा छौँ ।’


