काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको सभापति पदका लागि राजुप्रसाद लामिछानेले उम्मेदवारी घोषणा गरेका छन्। आगामी जेठ २३ गते हुने प्रथम जिल्ला अधिवेशनलाई लक्षित गर्दै उनले पार्टी संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धतासहित नेतृत्वमा दाबी प्रस्तुत गरेका हुन्।
बेलकोटगढी नगरपालिका–७ निवासी लामिछाने विगत २२ वर्षदेखि कपडा व्यवसायमा संलग्न छन् भने हाल रास्वपा नुवाकोटको जिल्ला सचिवालय सदस्यका रूपमा सक्रिय छन्। पार्टीभित्र निरन्तर सक्रिय रहँदै आएका उनी संगठन विस्तार र कार्यकर्ता परिचालनमा भूमिका खेलेका नेताका रूपमा चिनिन्छन्।
उम्मेदवारी घोषणा गर्दै लामिछानेले जिल्लाभर पार्टीको संगठन विस्तार गर्दै रास्वपालाई जनस्तरसम्म पुर्याउने लक्ष्यका साथ आफू नेतृत्वमा आउन चाहेको बताए।
‘पार्टीलाई जिल्लाका धेरैभन्दा धेरै नागरिकसम्म पुर्याउँदै संगठनलाई नयाँ उचाइमा लैजान सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ,’ उनले भने।
लामिछानेले आगामी जिल्ला अधिवेशनलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सक्रिय सहभागिताका लागि आग्रह पनि गरेका छन्।


