काठमाडौं। श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको लागि उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरले ठूलो जिम्मेवारी भए पनि आफूले पूरा गर्न सक्ने बताएकी छन्।
बिहीबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूले कल्पना पनि नगरेको ठाउँमा पार्टी अध्यक्ष हर्क राईले पुर्याएकोमा खुसी व्यक्त गरिन्।
ठाकुरले भनिन्, “म एउटा भुँइमान्छेलाई पार्टीको अध्यक्षले यहाँसम्म पुर्याइदिनु भयो। मलाई खुसी लागेको छ। अलि ठूलो जिम्मेवारी भयो, तर म सक्छु।”
साथै उनले रास्वपाले आफूलाई समर्थन गरेर सरप्राइज दिएको प्रतिक्रिया दिइन्। उनले थपिन्, “रास्वपाले समर्थन गर्छ भनेर थाहा थिएन। म मधेसको छोरी हुँ। सबैजनाले मधेसको छोरीलाई समर्थन गर्नुभएकोमा धेरै–धेरै धन्यवाद दिन चाहन्छु।”


