काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न केन्द्रीय विभाग र जिम्मेवारीमा नयाँ नियुक्ति गर्दै संगठन विस्तारलाई तीव्रता दिएको छ।
आइतबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले शिक्षा, स्टार्टअप तथा र्यापिड एक्सन टिमलगायत क्षेत्रमा नेतृत्व चयन गरेको हो।
पार्टीका अनुसार केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डे मनोनित भएका छन्। यस्तै, आर्थिक विकास तथा उद्यमशीलतासम्बन्धी स्टार्टअप विभागको प्रमुखमा डा. प्रभात अधिकारीलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी, पार्टीको परिचालन संरचना सुदृढ बनाउन गठन गरिएको र्यापिड एक्सन टिमको केन्द्रीय प्रमुखमा मकवानपुरका बैकुण्ठ थापा (आशिष) र उपप्रमुखमा सशस्त्र प्रहरी बलका पूर्व डीआईजी विदुर खड्का नियुक्त भएका छन्।
बैठकले कर्णाली प्रदेशको सांगठनिक संरचनालाई पनि पूर्णता दिने निर्णय गरेको छ। सोअनुसार राजबहादुर साह र अविसरा सुवेदीलाई प्रदेश सहमहामन्त्रीको जिम्मेवारी प्रदान गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपाले नयाँ नियुक्तिमार्फत आगामी कार्ययोजना तथा प्रादेशिक संगठनलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।


