Friday, May 8, 2026
Homeराजनीतिरास्वपाको पत्रपछि धनुषा–१ को मत परिणाम घोषणा रोकियो

रास्वपाको पत्रपछि धनुषा–१ को मत परिणाम घोषणा रोकियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पत्रका आधारमा निर्वाचन आयोगले धनुषा–१ को मत परिणाम घोषणा रोकेको जनाएको छ।

धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी आयोगले खारेज गरेको थियो। तर मतगणना पूरा भइसकेपछि रास्वपाको पत्र आएपछि मत परिणाम सार्वजनिक नगरेको आयोगले जनाएको छ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार राजनीतिक दलको लेटरहेडमा आयोगलाई मत परिणाम सार्वजनिक नगर्न अनुरोध गर्दै निवेदन दिइएको आधारमा नतिजा रोकिएको हो।

भण्डारीले दलको तर्फबाट सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको जानकारी प्राप्त भएको र मत परिणाम तत्काल सार्वजनिक नगर्न भनिएकाले रोकिएको बताए।

उनले भने, “निर्वाचन आयोगमा कुनै पनि दलले उजुरी वा निवेदन दिन पाउँछन्। दलबाट अदालतमा मुद्दा विचाराधीन रहेको जानकारीसहित पत्र आएपछि मत परिणाम तत्काल सार्वजनिक नगर्ने निर्णय गरिएको हो। अब अदालतबाट जे निर्णय आउँछ, त्यसअनुसार आयोग अघि बढ्छ।”

निर्वाचन आयोगका कानुन तथा राजनीतिक महाशाखा प्रमुख यज्ञ भट्टराईले पनि रास्वपाको पत्र र अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थालाई ध्यानमा राख्दै धनुषा–१ को मत परिणाम सार्वजनिक नगरेको बताए।

उनका अनुसार आयोगले रास्वपाका उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गरेपछि दलकै तर्फबाट अदालतमा मुद्दा परेको जानकारीसहित मत परिणाम सार्वजनिक नगर्न अनुरोध गरिएको पत्र आएको थियो।

आयोगले फागुन १८ गते किशोरी साह ‘कमल’ को नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको प्रमाण प्राप्त भएको भन्दै उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भई विचाराधीन रहेको छ।

यसैबीच नेपाली कम्युनिस्ट पार्टीले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मातृका यादवलाई विजयी भएको प्रमाणपत्र नदिएको विषयमा आपत्ति जनाएको छ।

सोमबार पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले निर्वाचन ऐन, २०७४ अनुसार रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिनु गम्भीर विषय भएको बताएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका