काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले रसुवा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वसन्त भट्टसँग भेटवार्ता गरेका छन्। पार्टीका विभिन्न उम्मेदवारहरूसँग भेटघाट गर्ने क्रममा बालेनले रसुवाका उम्मेदवार भट्टसँग चुनावी अभियान र आगामी रणनीतिबारे छलफल गरेका हुन्।
भेटका क्रममा आगामी निर्वाचनलाई केन्द्रमा राख्दै मतदातामाझ भ्रम नफैलाउने, झुटा आश्वासन नदिने र जनताको वास्तविक समस्या सुन्दै अभियान अघि बढाउने विषयमा छलफल भएको उम्मेदवार भट्टले बताए। उनले भने, “हामी भाषणभन्दा काममा विश्वास गर्ने राजनीति चाहन्छौँ। जनताको पक्षमा दृढताका साथ उभिने नेतृत्व, इमानदार सोच र स्पष्ट दृष्टिकोणका साथ परिवर्तनको यात्रामा अघि बढिरहेका छौँ।”
उम्मेदवार भट्टका अनुसार रसुवाका जनताले यसपटक स्पष्ट परिवर्तन चाहिरहेका छन् र त्यसका लागि आफू र रास्वपा प्रतिबद्ध छन्। उनले परिवर्तनको अर्थ केवल बाह्य संघर्ष मात्र नभई समाजभित्र गाडिएको मौनता तोडेर अघि बढ्नु रहेको उल्लेख गरे। “परिवर्तन शत्रुसँग लडेर मात्र आउँदैन, आफ्नै घेराभित्र प्रश्न उठाउने साहसबाट जन्मिन्छ,” उनले भने।
भट्टले सत्ता क्षणिक भए पनि साहस र विवेकले पछ्याइएको बाटो इतिहासमा अंकित हुने उल्लेख गर्दै विवेकपूर्ण र जनमुखी राजनीतिलाई नै आजको आवश्यकता भएको धारणा व्यक्त गरे।


