काठमाडौँ — राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मतसम्भार तथा क्षमता विस्तारका कारण सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी दिएको छ।
विभागका सूचना अधिकारी शिवराज सेढाइँका अनुसार मर्मत सम्पन्न नहुँदासम्म अनलाइनमार्फत प्रदान गरिने विभिन्न सेवाहरू प्रभावित भएका छन्। अवरुद्ध भएका सेवाहरूमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन तथा कार्ड वितरण, विवरण सच्याउने सेवा, जन्मदर्ताका क्रममा राष्ट्रिय परिचय नम्बर प्राप्त गर्ने सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको नाम दर्ता तथा नवीकरणमा आवश्यक प्रमाणीकरण सेवा, साथै अन्य अन्तरआबद्ध सार्वजनिक सेवाहरूसमेत पर्छन्।
विभागले आइतबारदेखि सेवा अवरुद्ध रहेको जानकारी गराउँदै मर्मत सम्पन्न भएपछि सेवा पुनः सुचारु हुने जनाएको छ। यसबीचमा राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण सङ्कलन र वितरणको कार्य अफलाइनमार्फत गर्न सकिने भएकाले सबै सेवा इकाइहरूलाई सोही अनुसारको व्यवस्था गर्न भनिएको छ।
अफलाइनमार्फत विवरण दर्ता गराएका सेवाग्राहीलाई भने अनलाइन सेवा सुचारु भएपछि राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत उपलब्ध गराइने विभागले स्पष्ट पारेको छ। विभागले सेवा अवरुद्धबारे सेवाग्राहीहरूलाई सहकार्य र संयमका लागि अनुरोध गरेको छ।


