काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले राष्ट्रिय एकता दिवसले देशको साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने बताएका छन्।
राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेका पुर्खाहरूको योगदानलाई सम्मान गर्ने दिनका रूपमा यस दिवसलाई मनाउनुपर्ने बताए।
उनले पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवस पृथ्वी जयन्तीका रूपमा पनि मनाइने उल्लेख गर्दै यस दिवसले नेपालको साझा इतिहास, संस्कृति र राष्ट्रिय गौरवलाई उजागर गर्ने बताए। साथै, यसले विविधतायुक्त समाजभित्र आपसी एकता, सहिष्णुता र सद्भावलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ।
उपराष्ट्रपति यादवले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई आत्मसात गर्दै सामाजिक सद्भाव, सहिष्णुता र समरसता प्रवर्द्धन गर्न राष्ट्रिय एकता दिवसलाई उत्प्रेरकका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए।
आजको दिनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने सन्देश दिने उल्लेख गर्दै उनले युवापुस्तामा मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना विकास गर्न यस दिवसको विशेष महत्व रहेको बताए।
साथै, उनले सबै नागरिकले विभेद, वैमनस्यता र असहिष्णुता त्याग्दै समान अवसर, सामाजिक न्याय र सांस्कृतिक सम्मानलाई जीवनको मूल मन्त्र बनाउने संकल्प गर्नुपर्ने बताए। यस्तो संकल्पले मुलुकलाई आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक रूपमा उन्नतिको दिशामा अघि बढाउने उनको धारणा छ।


