Saturday, November 7, 2026
Homeसामाचारराष्ट्रिय अनुसन्धान विभागमा एआइजी बढुवाको दौड : एक पदका लागि नौ अधिकारीबीच...

राष्ट्रिय अनुसन्धान विभागमा एआइजी बढुवाको दौड : एक पदका लागि नौ अधिकारीबीच प्रतिस्पर्धा

काठमाडौं। राष्ट्रिय अनुसन्धान विभाग (एनआईडी) मा एआइजी पदका लागि बढुवा प्रक्रिया अघि बढेपछि आकांक्षी अधिकारीहरूबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ। सरकारले विशेष सेवा नियमावली संशोधन गर्दै लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया सक्रिय बनाएपछि विभागभित्र रस्साकस्सी चर्किएको छ।

गत साता बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत ऐन संशोधन गरी नियमावली परिमार्जनसहित विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हटाई गृह मन्त्रालय अन्तर्गत ल्याएको थियो। यससँगै दुई महिनादेखि रिक्त रहेको एआइजीको पद भर्ने मार्ग खुलेको विभागका एक अधिकारीले बताए।

विभागीय प्रमुख टेकेन्द्र कार्की एआइजीमा बढुवा भएपछि खाली भएको पदका लागि हाल नौ जना अनुसन्धान निर्देशक प्रतिस्पर्धामा छन्। जानकारी अनुसार, २०७९ भदौ २१ मा डीआईजी भएका ओम खड्का, कृष्ण ढकाल, राम दास, प्रजेश हमाल, भिम बुढाथोकीबीच मुख्य प्रतिस्पर्धा रहेको छ।

त्यसैगरी २०७९ वैशाख ५ मा डीआईजी भएका किशोर श्रेष्ठ र संजय यादव तथा २०७९ असार ११ मा डीआईजी भएका इन्द्रसिंह लामा र माधव तिमल्सिनाले पनि एआइजी पदका लागि दाबी उभ्याएका छन्।

यसअघि विभागीय प्रमुखको नियुक्तिमा नै सिनियरिटी बेवास्ता गरिएको भन्दै आलोचना भएको थियो। एआइजी पद पूर्ति भएपछि विभागमा तल्लो तहसम्म श्रृंखलाबद्ध बढुवा गर्ने तयारी गरिएको अधिकारीहरूले बताएका छन्।
‘रोकिएको बढुवा प्रक्रिया फुकुवा भएको छ,’ विभागका एक अधिकारीले भने, ‘केही दिनमै एआइजीमा नयाँ व्यक्तिको नियुक्ति हुनसक्छ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका