काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा आगामी भदौ २८ बाट अनिवार्य अवकाशमा जान लागेका छन् । उनले ३ वर्षे कार्यकाल पूरा गर्दै विभागको नेतृत्व छोड्न लागेका हुन् ।
थापा २०७९ भदौ २८ मा गुप्तचर प्रमुखमा नियुक्त भएका थिए । २०५३ सालमा अनुसन्धान अधिकृतका रुपमा सेवामा प्रवेश गरेका थापा आफ्ना ब्याचमेटहरुमध्ये अगाडि बढ्दै विभागको नेतृत्वमा पुगेका थिए ।
थापाका ब्याचमेट तथा हाल प्रशासन विभाग प्रमुख ओम प्रकाश जोशी नयाँ गुप्तचर प्रमुखको दौडमा अगाडि देखिएका छन् । यस्तै अर्का अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि दाबेदार मानिएका छन् । उनीहरूले हाल प्रदेश समन्वय विभाग र इन्टेलिजेन्सको जिम्मेवारी सम्हालिरहेका छन् ।
विभागमा हाल २ हजार २६५ जना कर्मचारी र एजेन्ट कार्यरत छन् । केन्द्रदेखि जिल्ला तहसम्म फैलिएको संरचनाबाट सूचना संकलन र विश्लेषण गरी विभागले साप्ताहिक रूपमा राज्यका महत्त्वपूर्ण निकायलाई प्रतिवेदन बुझाउँदै आएको छ ।
विभागमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशकसहित ९ अनुसन्धान निर्देशक, ११ सह–अनुसन्धान निर्देशक, ५३ उप–अनुसन्धान निर्देशक र ९० प्रमुख अनुसन्धान अधिकृत कार्यरत छन् । उनीहरूलाई हेटौँडा, नेपाल प्रहरी एकेडेमी र सशस्त्र प्रहरीको मातातीर्थस्थित एकेडेमीमा तालिम दिइन्छ ।


