काठमाडौं — संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज बस्ने भएको छ। आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आयोजना हुन लागेको हो।
बिहान ११ः३० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची तय गरिएको छ। उक्त विधेयकले नेपालको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका विषय समेट्ने अपेक्षा गरिएको छ।
त्यसैगरी बिहान ११ः३० बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरीय र सम्मानजनक बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने विषयमा छलफल हुनेछ। सो प्रस्ताव सम्बन्धमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग परामर्श तथा छलफल गरिने कार्यक्रम रहेको छ।


