Saturday, November 7, 2026
Homeसामाचारराष्ट्रपति पौडेल आज कतार भ्रमणमा, ‘सामाजिक विकासका लागि विश्व शिखर सम्मेलन’मा सहभागी...

राष्ट्रपति पौडेल आज कतार भ्रमणमा, ‘सामाजिक विकासका लागि विश्व शिखर सम्मेलन’मा सहभागी हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतारको राजधानी दोहा प्रस्थान गर्दैछन् । उनी यही कात्तिक १८ देखि २० गतेसम्म दोहामा आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार जाँदैछन् ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिएका छन् । राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संयुक्त राष्ट्रसङ्घ महासभाको निर्णयअनुसार आयोजना हुन लागेको यो सम्मेलन सदस्य राष्ट्रहरूका लागि अत्यन्तै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस लगायतका उच्चस्तरीय व्यक्तित्वसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

यसअघि पहिलो सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा सम्पन्न भएको थियो । यसपटक कतारले सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा विश्वले सामना गरिरहेका विकास असमानता, जनसङ्ख्यागत असन्तुलन, र प्रविधिको प्रभावजस्ता विषयमा गहन छलफल हुने बताइएको छ । साथै, सामाजिक विकासका लागि सहकार्य र साझा प्रतिबद्धता व्यक्त गरिने जनाइएको छ ।

सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको नेपाल सधैं शान्ति, स्थायित्व र विकासका पक्षमा सक्रिय रहँदै आएको छ । हाल नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेको हुँदा यो सहभागिता अझ अर्थपूर्ण रहेको मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेल कतारको औपचारिक भ्रमण पूरा गरी यही कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका