काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौंली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूको सुख, शान्ति तथा समृद्धिको कामना गरेका छन्।
राष्ट्रपतिले प्रकृतिसँग गहिरो सम्बन्ध रहेको किराँत समुदायको यो पर्वले जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्दै पारिवारिक, सामुदायिक तथा सामाजिक एकता कायम राख्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरेका छन्।
सन्देशमा उनले नेपाल विभिन्न जातजाति र समुदायहरूको “साझा फूलबारी” भएको उल्लेख गर्दै उधौंलीजस्ता पर्वहरूले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई एकसाथ गाँसी राष्ट्रिय एकता तथा साझा नेपाली पहिचान मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
राष्ट्रपतिले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्ध, प्रकृतिसँग मिलेर चल्ने जीवनशैली, श्रमको सम्मान, सांस्कृतिक संरक्षण र पूर्वजप्रतिको आस्था उधौंली पर्वले थप सुदृढ बनाएको महसुस भएको उल्लेख गरेका छन्।
उधौंलीले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास पनि राष्ट्रपतिले व्यक्त गरेका छन्।


