Thursday, April 30, 2026
Homeसुन्दर नेपालरारामा घोडा व्यवसाय फस्टाउँदै, स्थानीयको आम्दानी दोब्बर

रारामा घोडा व्यवसाय फस्टाउँदै, स्थानीयको आम्दानी दोब्बर

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य—नेपाली भाषाको उद्गमस्थल जुम्लाको कनका सुन्दरी सिन्जादेखि रारा तालसम्म—हवाई र सडक सुधारसँगै घोडा व्यवसाय फस्टाएको छ ।

रारामा घोडा व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि व्यवसायीहरू उत्साहित बनेका छन् । पछिल्ला महिनामा मौसम खुलेसँगै सप्तरङ्गी राराको दृश्य हेर्न, घुम्न तथा अध्ययन–अनुसन्धान गर्न आएका पर्यटकहरूको चाप बढेपछि घोडा सवारी सञ्चालन गर्दै आएका स्थानीयहरूका लागि यो आयको स्थायी स्रोत बनेको छ ।

रारा ताल वरिपरि घोडा चढी घुम्ने, मुर्मा गाउँ र चुचेमारा टपसम्म पुग्ने यात्रामा पर्यटकहरू विशेष आनन्द लिन्छन् । हालै काठमाडौंबाट आएका २५ जनाभन्दा बढीको टोलीले घोडा यात्राको अनुभव लिँदै राराको सुन्दरतालाई रमाइलो ढंगले अवलोकन गरे । बुढानिलकण्ठ–१० निवासी आशा अधिकारीले भनिन्, “घोडा चढेर रारा घुम्नुको बेग्लै आनन्द छ । मुर्मा टप पुग्दा सैपाल, छायानाथ, चंखेली, चुचेमारा हिमालसँगै सात जिल्लाका दृश्यहरू एकै नजरमा देख्न पाउँदा अविस्मरणीय अनुभव भयो ।”

स्थानीय होटल व्यवसायीका अनुसार पछिल्ला वर्षहरूमा कर्णाली राजमार्गमा निरन्तर सुधार हुँदै गएको छ, जसका कारण कर्णाली प्रदेशका साथै पोखरा, काठमाडौं, नेपालगञ्ज, विराटनगर र चितवनजस्ता सहरबाट रारा आउने पर्यटकहरूको संख्या उल्लेख्य रूपमा बढेको छ ।

दशैं–तिहारपछि दैनिक ५० देखि १५० जना स्थानीय पर्यटक रारा घुम्न आउने गरेका छन् । घोडा व्यवसाय समितिको निर्णयअनुसार पालैपालो घोडा प्रयोग हुने व्यवस्था गरिएको छ । पर्यटकहरू ताल किनारमा फोटो खिच्ने, टिकटक भिडियो बनाउने र घोडा चढेर फोटो सुट गर्ने आकर्षणमा रमाउने गर्छन् ।

सल्लेरीदेखि रारा हुँदै हुटु, माझघट, मुर्मा टप, महादेव मन्दिर र लागुडा मन्दिरसम्म पर्यटकहरू घोडा सवारीमा रमाउने गर्छन् । घोडा चालकहरू दैनिक प्रतिव्यक्ति २५ सयदेखि ८ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

तर, घोडा व्यवसायीहरूले उठाएको कर सदुपयोग नभएको गुनासो बढ्दै गएको छ । पर्यटकबाट उठाइएको रकममध्ये २० प्रतिशत मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, मुगुमा जम्मा हुन्छ—त्यसमध्ये १० प्रतिशत घोडा चालक समितिमा र बाँकी १० प्रतिशत पर्यटन कार्यालयमा संकलन गरिन्छ । सो रकम बिरामी पर्यटक वा घोडा चालकका समस्यामा प्रयोग गरिने गरिएको छ ।

यद्यपि, घोडा हिँड्ने बाटो बिग्रँदै जाँदा व्यवसायीहरू चिन्तित छन् । विशेषगरी रारामा निर्माणाधीन साइक्लिङ रुटका कारण घोडा सवारीमार्ग प्रभावित भएको गुनासो गरिएको छ ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति राराका अध्यक्ष बिष्णु रावलका अनुसार घोडाका लागि सहज बाटो बनाउन समितिको सहकार्यमा बाटो सुधारको काम अघि बढाइने योजना छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका