Sunday, November 8, 2026
Homeसामाचारराजेश हमालको उपस्थितिमा कृषि रियालिटी शोको भव्य सुरुआत(तस्बिरसहित)

राजेश हमालको उपस्थितिमा कृषि रियालिटी शोको भव्य सुरुआत(तस्बिरसहित)

काठमाडौं: विश्वकै पहिलो कृषि रियालिटी गेम शो ‘र: रिभोलुशनरी एग्रीकल्चर वार’ को आयोजनामा असार १५, राष्ट्रिय धान दिवसको अवसरमा गोदावरी नगरपालिका–१०, लेलेमा भव्य कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको विशेष आकर्षण महानायक राजेश हमालको उपस्थिति रह्यो।

गोदावरी नगरपालिका कृषि शाखा र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहकार्यमा आयोजित उक्त कार्यक्रममा नगरप्रमुख गजेन्द्र महर्जन, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, इसिमोडका डा. टाशी शेर्पा, मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरत राज ढकाल, वडा अध्यक्ष शेखर न्यौपाने, कार्यपालिका सदस्य उमा महत लगायत विभिन्न संघसंस्था, पत्रकार, समाजसेवी, बुद्धिजीवी र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा धिमेबाजा, असारे गीत, परम्परागत रोपाइँ, नृत्य लगायत स्थानीय सांस्कृतिक झलक दिने विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू समावेश गरिएका थिए। कृषि रियालिटी शोका परिकल्पनाकार तथा निर्देशक शैलेश कँडेल क्षेत्रीले शोको उद्देश्य किसानलाई सेलिब्रिटी बनाउने र कृषिलाई सम्मानजनक र आकर्षक पेशाको रूपमा स्थापित गर्ने रहेको बताए।

कार्यक्रममा महानायक हमालले युवाहरूको कृषि प्रतिको चासो कम हुँदै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै कृषिमा आत्मनिर्भर बन्नुपर्ने आवश्यकता औंल्याए। उनले रोपाइँ तथा ‘टग अफ वार’जस्ता गतिविधिमा सक्रिय सहभागिता जनाएर दर्शकहरूको उत्साह थप बढाए।

मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक ढकालले अबको युग प्रविधिमैत्री भएकाले परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग समायोजन गर्न यस्ता कार्यक्रमले उत्प्रेरणा दिने बताए। कार्यक्रममा ड्रोनमार्फत मल छर्ने प्रविधिको समेत प्रदर्शन गरिएको थियो।

गत वर्षको असार १५ मा ‘र:’ रियालिटी शोको आवेदन खुला गरिएको थियो। देशभरिका ७७ वटै जिल्लाबाट १,६८२ आवेदकमध्येबाट शीर्ष १०० छनोट गरिएपछि प्रशिक्षण र अन्तर्वार्ताका आधारमा अन्ततः १२ जना किसान र १२ जना प्राविधिक प्रतिस्पर्धाका लागि छानिएका छन्। कार्यक्रमका ६ एपिसोडको छायांकन शंखरापुर नगरपालिकामा सम्पन्न भइसकेको छ। उक्त शो भदौ महिनादेखि हिमालय टेलिभिजन र OSR रियालिटीमार्फत प्रसारण हुने आयोजकले जनाएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका