Tuesday, June 30, 2026
Homeसामाचारराजा चाल्र्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

राजा चाल्र्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ: संयुक्त अधिराज्यका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ।

बिहीबार अपराह्न लन्डनस्थित बकिङ्घम राजप्रासादमा आयोजित विशेष समारोहमा राजदूत घिमिरेले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो।

प्रमाणपत्र प्रस्तुतिपछि भएको शिष्टाचार भेटमा बेलायती नरेशले नेपालसँग बेलायतको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध सुमधुर र परस्पर लाभदायक रहेको उल्लेख गर्दै त्यसप्रति सन्तुष्टि व्यक्त गर्नुभएको थियो।

भेटका क्रममा राजा चाल्र्सले नेपाल भ्रमणका आफ्ना स्मरणहरू साझा गर्नुका साथै बेलायत सरकारले नेपालको विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी गराउनुभएको थियो।

राजदूत घिमिरेले दुई शताब्दीभन्दा लामो द्विदेशीय सम्बन्धको चर्चा गर्दै नेपालको सामाजिक तथा आर्थिक विकासका लागि संयुक्त अधिराज्यबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुभयो। साथै, उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राजा चाल्र्सको व्यक्तिगत सुख, सुस्वास्थ्य र बेलायती जनताको निरन्तर समृद्धिको कामना गर्नुभयो।

समारोहमा राजदूत घिमिरेकी धर्मपत्नी सरिता घिमिरे, बकिङ्घम राजप्रासाद, बेलायती विदेश मन्त्रालय तथा नेपाली राजदूतावासका वरिष्ठ कूटनीतिक अधिकारीहरू उपस्थित थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका