काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन जोड्ने रसुवागढी नाकास्थित भोटेकोशी नदीमा रहेको मितेरी पुल पुनर्निर्माण गरी आवागमन पुनः सुचारु गर्न चीनसँग समन्वय गर्ने जनाएको छ।
बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक दिनेश प्रसाद भट्टले बाढीले क्षति पु-याएको पुल र चीनतर्फको सडक पुनःनिर्माण गरी केरुङ नाका सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी दिए।
उनका अनुसार बाढीमा हराएका स्वदेशी तथा विदेशी व्यक्तिको खोज तथा उद्धारलाई थप प्रभावकारी र निरन्तर बनाइएको छ। हालसम्म ९ जनाको शव फेला परेको छ भने १९ जना अझै बेपत्ता छन्।
भट्टले रसुवागढी क्षेत्रमा ३८३ जना सुरक्षाकर्मी खटाइएकामा ५७ जनाको तत्काल उद्धार गरिएको उल्लेख गरे। बाढीले २४ वटा कन्टेनर, ३५ वटा विद्युतीय गाडी र ६ वटा ट्रक बगाएको उनले जानकारी दिए।
उनले भोटेकोशी नदीमा अत्यधिक वर्षाका कारण नभई अन्य कारणले बाढी आएको आशंका गरिएको भन्दै त्यस विषयमा थप अध्ययन भइरहेको बताए।


