रसुवा, केरुङ्ग: केरुङबाट मालसामान बोक्ने कन्टेनरहरूको चाप दिनानुदिन बढ्दै गएको छ। चिनियाँ सामग्री आयातका लागि दैनिक दुई दर्जनभन्दा बढी कन्टेनर केरुङ आउने गरेको सीमासुरक्षाकर्मीले जानकारी दिएका छन्।
रसुवा भन्सार कार्यालय टिमुरेका अनुसार स्याउ, लसुन, अदुवा, स्याउपाति, ओखर, चप्पल, तयारी पोशाक, विद्युतीय सामान, जलविद्युत् आयोजनाका उपकरण, र खेलौना लगायतका सामग्री आयात भइरहेका छन्। हाल दुई सयभन्दा बढी कन्टेनर भन्सार प्रक्रियामा रहेको बताइएको छ।
प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले रसुवागढी नाकाबाट सबैभन्दा धेरै ईभी (विद्युतीय सवारीसाधन) आयात हुने जानकारी दिए। चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म, तीन हजार सवारीसाधन नेपाल भित्रिएको छ। सवारीसाधन नै राजस्व आर्जनको प्रमुख स्रोत बनेको बताउँदै उनले चालु आव २०८१/८२ को पहिलो चौमासिकमा करिब एक सय २४ अर्बको सामग्री आयात भई १२ अर्बभन्दा बढी राजस्व संकलन भएको जानकारी गराए।
तर, रसुवागढी नाकाबाट मालसामानको निर्यात भने अत्यन्तै न्यून रहेको छ। उपलब्ध विवरण अनुसार ऊनी गलैँचा, बक्रम कपडा, तयारी कपडा, चाउचाउ, नुडल्स, जडीबुटी, अगरबत्ती, स्टिलउड, र काठका सामग्री प्रमुख निर्यात वस्तुमा पर्दछन्।
आयाततर्फ जुत्ताचप्पल, तयारी पोशाक, र विद्युतीय सामग्री उल्लेखनीय छन्। यस्तै, सीमाक्षेत्रमा गैरकानुनी गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको २४सै घण्टा पहरा व्यवस्थाले सीमाक्षेत्र शान्त रहेको भन्सार अधिकारीले बताएका छन्।
विसं २०७२ देखि पूर्ण रूपमा सञ्चालनमा रहेको रसुवागढी नाका सडक मर्मतको अभावका कारण मालवाहक सवारीसाधन सञ्चालनमा असहजता भइरहेको छ। स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डका होचो-अग्लो भागलाई मर्मत गरी सम्याउन थोरै खर्चले पनि ठूला सुधार हुने सुझाव सवारी चालकहरूले दिएका छन्।
डिब्बा चालक जङ्गबहादुर तामाङले वर्षायाममा समस्या हुने स्थानहरूमा रोलर प्रयोग गरी सम्याउन सके हिउँदमा सवारीसाधन चलाउन सहज हुने सुझाव दिएका छन्। तर, सडक अधिकारीको न्यून उपस्थितिले समस्या समाधानमा प्रभावकारी काम हुन नसकेको स्थानीयले बताए।


