Sunday, November 8, 2026
Homeसामाचाररघुगङ्गामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति सुरू

रघुगङ्गामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति सुरू

म्याग्दी, २ भदौ। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन र अन्तिम चरणमा पुगेका पाँचवटा जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको छ। गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र गर्ने र मौवाफाँट–झिँ–पाखापानी–दग्नाम–चिमखोला–कुइनेमङ्गलासम्मका सडकका कठिन भूभागमा ढलान गर्न थालिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए।

गत फागुन र चैत महिनामा भएको राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधि सहभागी छलफलपछि जलविद्युत् कम्पनीहरूले प्रयोग गर्दै आएको सडक स्तरोन्नति गर्ने प्रतिबद्धता कार्यान्वयनमा आएको हो। यसअघि आयोजनाहरूले सामाजिक उत्तरदायित्वका रकमको विवरण सार्वजनिक नगरेको र सडक मर्मतमा बेवास्ता गरेको आरोपमा स्थानीयवासी र जनप्रतिनिधिले आन्दोलन गरेका थिए।

रघुगङ्गामा ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र २१.३ मेगावाटको ठूलो खोला आयोजना सम्पन्न भइसकेका छन्। ४० मेगावाट क्षमताको राहुघाट, २२.५ मेगावाटको ठूलो खोला ए र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ।

अध्यक्ष भण्डारीका अनुसार अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवद्र्धक तुँदी पावरले मौवाफाँट–दग्नाम सडक खण्डमा रु १ करोड ५० लाख खर्चेर ढलान गरेको छ। साथै झिँ र पाखापानीतर्फको सडक स्तरोन्नतिमा पनि थप रु २५–२५ लाख लगानी गर्ने तयारी गरेको छ। ठूलोखोला र माथिल्लो ठूलोखोला ‘ए’ आयोजनाले रु ६७ लाख सहयोगमा दवाङ र अजिङ्गर भिरको साँघुरो सडक फराकिलो पार्दै ढलान कार्य गरिरहेका छन्।

यस्तै, चिमखोला–मङ्गले–राहुघाट, ठूलोखोला र माथिल्लो ठूलोखोला आयोजनाले करिब रु ८० लाख खर्चेर रघुगङ्गा–७ चिमखोला गाउँ नजिकै बगरखोलामा बाढी नियन्त्रणका लागि १५० मिटर तटबन्ध निर्माण गरेका छन्। सो खण्डमा बाढीको कटानका कारण करिब २०० घरधुरी जोखिममा परेका थिए।

साथै, नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर ले करिब रु १० करोड खर्चेर बेनी–जोमसोम सडकको घुमाउने तालदेखि पिप्ले–मौवाफाँट–बुक्ल–बाँधस्थल सडक स्तरोन्नति थालेको छ। सहायक ठेकेदारमार्फत ११ किलोमिटर सडक ग्राभेल गर्ने काम सुरु भइसकेको र पछि अन्य चार जलविद्युत् आयोजनाको २० प्रतिशत र रघुगङ्गा हाइड्रोपावरको ८० प्रतिशत लगानीमा कालोपत्र गर्ने सहमति भएको गाउँपालिकाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका