हप्ता दिनअघि निद्रामै हेलो भन्दै फोन रिसिभ गरें। रातको एक बजे एक मित्रले सर, डाक्टरले तीन पोका रगत चाहिन्छ भन्नुभएको थियो। सिजरिङ केस भएकाले आमा र बच्चा दुवैलाई खतरा रहेछ। गुहारसँगै रोदनको आवाज कर्णपटसम्म पुग्दा निद्रा पूरै खुल्यो। फोन गर्नुपूर्व रक्तसञ्चार केन्द्र पुगेका ती मित्र ए नेगेटिभ समूहको रगत नपाउँदा छट्पटीको रापमा जलिरहेका थिए। नेगेटिभ फ्याक्टरको रगत सधैं दुर्लभ हुन्छ। म्यासेन्जरमा सक्रिय मित्रहरूसँग सम्पर्क गर्न खोजें। धेरैको फोन रिसिभ भएन। मानवीय धर्म सम्झेर निरन्तर सम्पर्क गर्दै गएँ। बिहान सात बजेसम्म २१ जनासँग सम्पर्क भयो तर कुनै राहत मिलेन। सबैको उत्तर एउटै हुन्थ्यो, “यस्तो अवस्था छ। केही गरी कोरोना भाइरस सरिहाल्यो भने ?’ कोभिडकै कारण उत्पन्न परिस्थितिले मानवताको देहावसान हुँदै गरेको अनुभूति गरें निराश मनले। मानवीय धर्म पालना गर्ने पुण्य कार्य हो रक्तदान। मानवका लागि मानवको मात्रै रगत आवश्यक पर्ने भएकाले रगतको विकल्प छैन। यो निर्विकल्प तत्वको कुनै मूल्य नै छैन। पैसाको खोलो बगाउँदा समेत रगतको एक थोपा किन्न सकिँदैन किनकि रगत अमूल्य छ। रगत त स्वयंसेवी रूपमा दान गरिनुपर्छ। रक्त स्वयंसेवकको कुनै भौतिक वस्तुमा मूल्यांकन गर्न कदापि सकिँदैन। रगत जीवनधारा हो। अहिलेसम्म वैज्ञानिक प्रयोगशालामा निर्माण हुन नसकेको प्राण रस हो, रगत।
रक्तदाताको निस्वार्थ सेवाभावनाले मात्र आवश्यकतामा परेका व्यक्तिलाई जीवनदान दिनसक्छ। जीवन र मरणको दोसाँधमा रहेका व्यक्तिको जीवन रक्षाका लागि रक्तदानको विकल्प परिकल्पना गर्न सकिँदैन। यस्तो निर्विकल्प कार्यमा सबैको सहभागिता आजको आवश्यकता हो। ५९औं वर्षमा प्रवेश गर्दै गरेको नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चारमा नवप्रवर्धनका उपायहरू अवलम्वन गर्नु आवश्यक छ।
सहरीकरण, स्वास्थ्य सेवाको बढ्दो विकास र बिरामीको उच्चचापका कारण रगतको आवश्यकता दिनानुदिन बढ्दो छ। ग्रामीण क्षेत्रमा विश्वासयोग्य स्वास्थ सेवाको अभावका कारण पनि उपचारका लागि सहर धाउनु अर्को बाध्यता हो। मानव स्वास्थ्यमा नवीन चुनौतीहरू थपिँदै छन्। नसर्ने रोगहरूको वृद्धिसँगै उपचार गर्ने आमप्रवृतिमा आएको सुधारले पनि रगतको माग बढ्दै गएको छ। सडक सुरक्षाको कमी र सवारी चालकको अपरिपक्वताले सडक दुर्घटना हरेक दिन बढ्दै गइरहेका छन्। स्वास्थ्यसम्बन्धी जटिल अवस्थामाझ रक्तदाताको संख्या उल्लेख्य मात्रामा बढ्न सकेको छैन। हरेक व्यक्तिको शरीरमा भिन्न प्रकारको रगत पाइन्छ। सामग्रमा मानव शरीरमा ए, बी, एबी र ओ गरी चार समूहका रगत पाइन्छन्। जुन पोजेटिभ र नेगेटिभ गरी दुई वर्गका हुन्छन्। अधिकांश व्यक्तिमा पोजिटिभ वर्गको रगत पाइएको तथ्यांकले देखाएको छ भने नेगेटिभ वर्गको रगतलाई दुर्लभ मान्ने गरिन्छ।
हरेक समूह र वर्गको रगत भएका व्यक्तिलाई रगतको माग उत्तिकै बढ्दो छ। रगत आपूर्तिको समस्या समाधान गर्न युवाको अहं भूमिका देखिन्छ। प्रायः हरेक रक्तदान कार्यक्रममा युवाजमात बढी देखिन्छ रक्तदान गर्ने। तथापि उल्लेख्य मात्रामा रगत संकलन गर्न सकिएको छैन। हरेक स्वस्थ व्यक्तिले जन्मदिनसँगै रक्तदान गर्ने परिपाटीको विकास गर्न सके रगतको अभावमा कसैले ज्यान गुमाउनु पर्दैन। १८ वर्ष पुगेका हरेक युवाले आपूmलाई स्वस्थ प्रमाणित गर्न रक्तदान गर्नु झनै आवश्यक छ। जनचेतना र अभिमुखीकरणका गतिविधिमा युवा परिचालन गर्न सके रगतको अभावको हालको अवस्थामा सुधार ल्याउन सकिन्छ। रक्तदानलाई सामाजिक उत्तरदायित्वका रूपमा अंगीकार गर्न सकेमा रगतको अभाव निर्मूल हुनसक्छ। सोसाइटीको केन्द्रीय रक्तसञ्चार केन्द्रका अनुसार नेपालमा ८६ प्रतिशत रक्तदाता पुरुष छन्। १८ वर्षको उमेरदेखि नै रक्तदान गर्न सकिने भए पनि २६ देखि ४५ वर्ष उमेरका रक्तदाता बढी छन्। यिनलाई रक्तदान गर्ने बनाउन सके रक्तदाताको संख्या बढ्छ।
रक्तदान स्वस्थ व्यवहारको सूचक पनि भएकाले रहेक युवा तथा वयस्क व्यक्तिलाई रक्तदानप्रति आकर्षण बढाउनु जरुरी छ। मानव शरीरमा हरेक तीन महिनाको अन्तरालमा रगत निर्माण हुने प्रक्रिया चल्ने भएकाले हरेक स्वस्थ व्यक्तिले रक्तदान गर्न र स्वस्थ व्यवहार अपनाउन चेतना फैलाउन नेपाल रेडक्रस सोसाइटीजस्ता मानवीय निकायहरूले आवश्यक कदम चाल्नु आवश्यक छ। रक्तदानको महत्व र यसबाट हुने फाइदाबारे विश्वविद्यालय स्तरमा अभियान चलाइनुपर्छ। एक घर, एक रक्तदाताको नारासहित आमसञ्चारलगायत सामाजिक सञ्जालमार्फत सचेतना कार्यक्रम सञ्चालन गरिनु उपयुक्त कदम हुनसक्छ। स्वास्थ्य र उत्तरदायित्वको बोध सबैलाई गराउन सके रगतको अभावमा छटपटिनुपर्ने अवस्था किमार्थ उत्पन्न हुँदैन। विश्वमा रेडक्रसका प्रायः सबै राष्ट्रिय सोसाइटीले रक्तसञ्चारको जिम्मेवारी बहन गरेका हुन्छन्। जापानी रेडक्रस सोसाइटीले देशभरका अस्पताल सञ्चालन गरेको छ भने फिनिस रेडक्रसले देशभर रगत आपूर्तिको जिम्मेवारी वहन गरेका छन्।
नेपालको सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चारको महत्वपूर्ण जिम्मेवारी बहन गरेको छ। यस संस्थाले रगतको सहज आपूर्ति गर्न गराउन उचित योजना बनाई सबै निकायसँग सहकार्य गर्नु आवश्यक देखिन्छ। विशेषगरी मानवीय सहायता कार्यमा संलग्न संघसंस्था, सरकारी, गैरसरकारी, निजीक्षेत्र र व्यावसायिक निकायहरूसँगको साझेदारीमा कम्तिमा वर्षमा तीन पटक रक्तदान कार्यक्रम आयोजना गर्न सके रगतको अभाव नहुन सक्छ। रक्तदान गर्नु व्यक्तिको सामाजिक कर्तव्य पनि हो। साझा प्रयासले नै सर्वे भवन्तु सुखिनःको मूलमन्त्रलाई सार्थक तुल्याउन सक्छ।


