काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा पुग्नु मात्र सफलता नभएको भन्दै त्यसलाई परिणाममा रूपान्तरण गर्न नसके नागरिकको विश्वास गुम्ने चेतावनी दिएका छन्।
बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वगृहमन्त्री लामिछानेले सरकारको नेतृत्व सम्हालेको चार महिना बितिसक्दा पनि माइतीघरमा नागरिकका आवाज र भीडभाड उस्तै देखिनु चिन्ताको विषय भएको बताए।
“हामी चार महिनादेखि सरकारमा छौँ, तर नागरिकका आवाज उस्तै सुनिन्छन्,” उनले भने, “नागरिकमा आशा मरेर हो कि बानी परेर भीड घटेको छैन भन्ने छुट्याउन गाह्रो परेको छ। यदि निराशा बानी नै परेको हो भने त्यो अझ भयानक परिस्थिति हो।”
सरकार गठन भएको छोटो समयमै ठूलो परिणाम खोज्ने प्रवृत्तिप्रति टिप्पणी गर्दै लामिछानेले रातारात परिवर्तनको अपेक्षाले पटक–पटक नयाँ विकल्प खोज्ने अवस्था सिर्जना हुन सक्ने बताए।
उनले युवा मन्त्री तथा सांसदहरूलाई पदमा पुगेको उत्सव मनाउनुभन्दा जिम्मेवारीको गम्भीरता बुझेर काम गर्न आग्रह गरे। “यो पदमा रमाउने बेला होइन, सोचेर काम गर्ने बेला हो। यसपटक हामी चुक्यौँ भने आगामी पुस्ताका युवाले यस्तो राजनीतिक अवसर पाउने छैनन्,” उनले भने।
लामिछानेले युवा नेतृत्वको वकालत गर्ने क्रममा विगतमा पाका तथा अनुभवी नेताहरूप्रति आफूहरूले गरेको व्यवहारबारे पनि आत्मसमीक्षा आवश्यक रहेको बताए। “हिजो युवा नेतृत्व भएन भनेर हामीले उमेरले पाका नेताहरूलाई अपमानित वा अपहेलित गर्यौँ कि भन्ने महसुस अहिले भइरहेछ,” उनले भने।
विगतमा विरोधी वा पाका पुस्तालाई दोष दिएर उम्किन सहज भए पनि अहिले परिस्थिति फरक रहेको उनको भनाइ थियो। अहिले युवा नेतृत्व स्वयं सरकार सञ्चालनको जिम्मेवारीमा रहेकाले आफ्ना कामबाट जनताको अपेक्षा पूरा गर्नुपर्ने उनले बताए।
प्रतिनिधिसभामा युवा सांसदहरूको बाहुल्य हुनु र देशले विश्वकै कान्छो प्रधानमन्त्री पाउनु ऐतिहासिक अवसर भएको उल्लेख गर्दै लामिछानेले त्यसलाई व्यवहारिक उपलब्धिबाट पुष्टि गर्नुपर्ने बताए।
उनले चुनावी नतिजा र संसदमा रहेको संख्याले मात्र नागरिकको सपना पूरा नहुने भन्दै युवा नेतृत्वलाई परिणाममुखी भएर काम गर्न आह्वान गरे।


