नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल, इन्जाले युक्रेनको युद्द क्षेत्रमा रिपोर्टिङका क्रममा रुसी सेनाले पत्रकारहरुलाई श्रृङ्खलाबद्ध हत्या र आक्रमण गरेकोमा विरोध गरेको छ ।
सातामा ३ जना पत्रकारको हत्या हुनु विश्वभरका मिडिया र नागरिक समाजको लागि अति नै दुःखद भएको इन्जाले जनाएको छ । रूसी सरकारलाई युक्रेनका युद्ध क्षेत्रहरूमा असाइनमेन्टमा रहेका पत्रकारहरूको हत्या रोक्न इन्जाले अनुरोध गरेको छ ।
युद्ध क्षेत्रमा पत्रकारहरू ब्रेट रेनाउड, पियर जाक्रजेव्स्की र ओलेक्सान्ड्रा कुर्सिनोभाको हत्या गरिएको थियो । इन्जाले भनेको छ–‘रूसको सो कदम युद्ध अपराध, प्रेस स्वतन्त्रता र प्रेसको व्यावसायिक अधिकारको हनन् हो ।’
अमेरिकी पत्रकार ब्रेट रेनाउडलाई टाइम म्यागजिनको असाइनमेन्टमा जाँदा इरपिनमा रुसी सेनाले गोली हानी हत्या गरेको थियो । युक्रेनी निर्माता र फिक्सर ओलेक्सान्ड्रा कुर्सिनोभा र फक्स न्यूजका क्यामेरा पर्सन पियर जाक्रजेव्स्की कीभ बाहिर गोरेन्कामा एक सवारी आक्रमणमा मारिएका थिए । बेलायती पत्रकार बेन्जामिन हल पनि घाइते भएका छन् ।
विश्व समुदायलाई त्यस्ता आपराधिक कार्यहरू विरुद्ध एकैठाउँमा उभिन र युक्रेनको युद्ध क्षेत्रमा कार्यरत पत्रकारहरूका लागि स्वतन्त्र र सुरक्षित वातावरण सिर्जना इन्जाले अपिल गरेको छ ।


