काठमाडौँ, २० जेठ: गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरका अनुसार आन्दोलनका कार्यक्रम स्थगित भएसँगै आजदेखि सार्वजनिक सवारीसाधन नियमित रूपमा सञ्चालनमा आउने भएका छन्।
सरकार र यातायात व्यवसायीबीच सोमबार राति मध्यरातमा सहमति भएको थियो। यद्यपि, सहमतिपछि पनि बिहान सार्वजनिक यातायात सञ्चालनमा नआउँदा सर्वसाधारणले निकै सास्ती भोग्नुपर्यो।
सहमति गृहमन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च पदस्थ अधिकारी र यातायात व्यवसायीबीच पटक–पटक वार्तापछि जुटेको हो। सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकारलाई पठाइएको थियो। त्यसैको आधारमा प्रदेश सरकारले नियमावली स्थगन गर्ने निर्णय गरेको हो।
यातायात व्यवसायीहरू संघीय सरकारसँग सहमति भइसके पनि प्रदेश सरकारले नियमावली स्थगन नगरेसम्म आन्दोलन जारी रहने अडानमा थिए। यसै कारण मंगलबार दिनभर सवारीसाधन ठप्प हुँदा आम नागरिकले दु:ख पाएका थिए।


