काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परेर म्यानमार पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन हुँदै आएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा काम गराइएका ३७ जना नेपालीको उद्धार गरिएको छ।
गएको १९ अक्टोबरमा म्यानमार सुरक्षा निकायले स्क्यामिङ केन्द्रमा छापा मारेसँगै भागेर थाइल्याण्ड पुगेका उनीहरूलाई नेपाली राजदूतावासले थाई अधिकारीसँगको समन्वयमा सुरक्षित उद्धार गरी बुधबार नेपाल एयरलाइन्सको उडान आरए–४०२ मार्फत स्वदेश फर्काएको हो।
यस्तै, म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइ मेसोटमा रहेका २ जना तथा कम्बोडियामा रहेका ४ जना नेपालीलाई पनि चाँडै स्वदेश फर्काउने उद्देश्यले सम्बन्धित मुलुकका अधिकारीहरूसँग समन्वय भइरहेको राजदूतावासले जनाएको छ।
नेपाल सरकारले तोकेका कानुनी प्रक्रिया पूरा गरेर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गर्दै राजदूतावासले छिटो र सजिलै धेरै पैसा कमाउन सकिन्छ भन्ने प्रलोभनमा नपरी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायत मुलुकमा ‘भ्रमण’को नाममा अनधिकृत रूपमा रोजगार नखोज्न पुनः चेतावनी दिएको छ।


