म्याग्दी, ३१ साउन । म्याग्दीमा महिलाको नाममा घरजग्गा स्वामित्व बढ्न थालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र महिलाको सशक्तिकरण यसका मुख्य कारण मानिएका छन्।
सरकारले महिला, दलित, जनजाति, सहिद परिवार र अपाङ्गको नाममा घरजग्गा खरिद गर्दा रजिष्ट्रेशन दस्तुरमा २५ प्रतिशत छुट दिने गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा जिल्ला मालपोत कार्यालय म्याग्दीमा दर्ता भएका ८८१ लिखतमध्ये १८० महिलाको नाममा छन्।
गत वर्ष महिलाले रजिष्ट्रेशन शूल्कमा रु २४ लाख ४८ हजार ५३० छुट पाएका थिए। अघिल्लो वर्ष २४३ महिलाले घरजग्गा आफ्नो नाममा दर्ता गरेका थिए।
मालपोत अधिकृत साधनाकुमारी श्रेष्ठका अनुसार महिलाको आर्थिक पहुँच बढ्नु, चेतना विकास हुनु, पुरुष विदेशिनु र सरकारी छुट सुविधा उपलब्ध हुनु स्वामित्व बढ्नुका प्रमुख कारण हुन्।
गत वर्ष दलित तथा जनजातिका ४१, अपाङ्ग १ र अन्य वर्गका १२ जनाले पनि छुट सुविधा पाएका थिए। लक्षित समुदायका ३३४ जनाले जम्मा रु ३१ लाख ६० हजार ८८६ बराबरको छुट पाएका छन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार, जिल्लामा १ लाख ७ हजार जनसङ्ख्यामध्ये महिला जग्गाधनी ९.७ प्रतिशत छन्। तीमध्ये ११.८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै छन् भने २.३ प्रतिशतको नाममा घर मात्रै छ।
धितो राखेर ऋण लिने प्रवृत्ति बढ्दो
मालपोतका नायब सुब्बा कमलप्रसाद मरासिनीका अनुसार २०८१/८२ मा ९१६ जनाले घरजग्गा धितो राखेर ऋण लिएका र १,४१५ जनाले फुकुवा गरेका छन्। अघिल्लो वर्ष यो संख्या क्रमशः ८५७ र १,१६९ थियो। बैंक तथा वित्तीय संस्थामा घरजग्गा धितो राखेर व्यापार, व्यवसाय, वैदेशिक रोजगारी, शिक्षा, पशुपालन र कृषि क्षेत्रमा लगानी बढेको देखिन्छ।
राजस्व संकलन सात वर्षकै उच्च
२०८१/८२ मा मालपोत कार्यालय म्याग्दीले रु ५ करोड ८१ लाख ५ हजार ९११ राजस्व संकलन गरेको छ, जुन पछिल्लो सात वर्षयताकै उच्च हो।
अघिल्ला वर्षमा संकलन रकम यसप्रकार रहेका छन् :
२०८०/८१ : रु ४ करोड ११ लाख १३ हजार ७३२
२०७९/८० : रु ४ करोड ६८ लाख २१ हजार २
२०७८/७९ : रु ५ करोड ४ लाख ८४ हजार ९१०
२०७७/७८ : रु ५ करोड ११ लाख ३ हजार ६००
२०७६/७७ : रु ३ करोड २९ लाख ४३ हजार ८०
गत आर्थिक वर्षमा संकलित राजस्व शीर्षक अनुसार :
रजिष्ट्रेशन शूल्क : रु २ करोड ८ लाख ८६ हजार २७२
पुजिँगत लाभकर : रु २ करोड ३१ लाख ५५ हजार ४४०
न्यायिक दस्तुर, दण्डजरिवाना, रोक्का : रु १ करोड ३९ लाख ८३ हजार ७५६
सेवाशूल्क तथा प्रशासनिक दस्तुर : रु ८० हजार ४४३
मालपोत अधिकृत श्रेष्ठका अनुसार कोरोना महामारीपछि घरजग्गा किनबेच विस्तारै लयमा फर्किँदै जाँदा राजस्व संकलनमा सुधार देखिएको हो।


