काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार युवराज रोका र नेशनल रिपब्लिक नेपाल पार्टीका तुलप्रसाद गर्बुजाको उम्मेदवारी कायमै रहेको छ।
निर्वाचन आयोगले तोकेको समयभित्र सम्बन्धित निर्वाचन कार्यालय नपुगेकाले उनीहरूको उम्मेदवारी फिर्ता हुन नसकेको हो। आयोगले उम्मेदवारी फिर्ताका लागि शुक्रबार बिहान १० बजे कार्यालय खुलेपछि दिउँसो १ बजेसम्मको समय तोकेको थियो।
उम्मेदवारी फिर्ता लिने भन्दै दुवै उम्मेदवारले विज्ञप्ति सार्वजनिक गरे पनि निर्धारित समयभित्र स्वयं उपस्थित नभएपछि आयोगले उनीहरूको उम्मेदवारी कायम राखेको जनाएको छ।
यसैबीच, समयमै निर्वाचन कार्यालय पुगेका स्वतन्त्र उम्मेदवार नवीन जीसीले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। जीसीको उम्मेदवारी फिर्तापछि म्याग्दीमा कुल १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।


