Sunday, July 5, 2026
Homeसामाचारम्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी: मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ सुविधा विस्तार भएपछि स्थानीय बासिन्दा अत्यन्त खुसी भएका छन्। रु ६५ लाख ५७ हजार २७७ को लागतमा सम्पन्न पात्ले खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना अन्तर्गत १२२ घरधुरीमा बसोबास गर्ने ५८९ जनसंख्या लाभान्वित भएका छन्।

उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाका अनुसार, अब सबै घरमा व्यक्तिगत धारा जडानमार्फत नियमित रुपमा खानेपानी आपूर्ति भइरहेको छ। आयोजनाका लागि नेपाल पानीका लागि स्वास्थ्य (नेवा) संस्थाले रु ३३ लाख ३७ हजार ३२५, मालिका गाउँपालिकाले रु १४ लाख ७२ हजार ५३ अनुदान प्रदान गरेका थिए भने उपभोक्ताबाट रु १७ लाख ८९९ बराबरको श्रमदान गरिएको थियो।

सामुदायिक विद्यालयमा पनि धारा जडान गरिएको छ। नेवाका प्राविधिक रुपक थापाका अनुसार, चारवटा मुहानको पानीलाई १२,५२७ मिटर लामो मुख्य र शाखा पाइपलाइनमार्फत नौवटा ट्याङ्की बनाएर वितरण गरिएको हो।

विगतमा सार्वजनिक धाराको भरमा पानी उपभोग गर्दै आएका पात्ले बासिन्दालाई २० वर्षअघि निर्माण भएको जीर्ण संरचनाले थप समस्या पारिरहेको थियो। अब घरमै धारा पुगेपछि समयको बचत, झन्झटबाट मुक्ति, र सरसफाइमा सहजता अनुभव गरिएको स्थानीय बलबहादुर रोकाले बताए। धाराको नजिकै भाडा सुकाउने पक्की चाङ पनि निर्माण गरिएको छ, साथै पानीको मितव्ययी प्रयोग र दिगोपनाका लागि धारामा मिटर पनि जडान गरिएको छ।

मालिका गाउँपालिका र नेवा संस्थाको साझेदारीमा आर्थिक वर्ष २०८१/८२ मा मालिका–३ का पात्ले, लुम्पीपार र डाँडागाउँमा तीनवटा खानेपानी योजना निर्माण गरिएका छन्। ती योजनाबाट करिब ४०० घरपरिवार लाभान्वित भएका छन्। वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुम्पीपार टोलमा खानेपानी सेवा विस्तार भइसकेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका