गलेश्वर (म्याग्दी) । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दीका मतदाताले आफ्नो धारणा बनाउन थालेका छन् । मतदाताले विगतझैँ भाषण, आरोप–प्रत्यारोप र आश्वासन बाँड्ने उम्मेदवारभन्दा सुशासन, विकास र रोजगारीको स्पष्ट योजना भएका उम्मेदवारलाई रोज्ने बताएका छन् ।
सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म काम गर्ने, समाज जोड्ने र विश्वास कायम गर्ने नेतृत्व रोज्ने धारणा बलियो बन्दै गएको युवा मतदाता भवि शर्माले बताए । उनले विगतमा झुटा आश्वासन र विकासका नाराले मतदाता प्रभावित पारिएको भन्दै यसपटक समस्या समाधान गर्ने स्पष्ट योजना भएका उम्मेदवारलाई मत दिने बताए ।
बेनी नगरपालिका–२ का मतदाता पूर्णबहादुर खत्रीले समाजमा विग्रह ल्याउने र झुटा आश्वासन दिने उम्मेदवारलाई मत नदिने बताए । “हरेक चुनावमा सपना बाँडिन्छ, तर काम देखिँदैन । यसपटक जनताको दुःख बुझ्ने र काम गर्ने उम्मेदवारलाई रोज्छौं,” उनले भने ।
मंगला गाउँपालिका–५ का किसान हरिकृष्ण पौडेलले कृषि क्षेत्रको विकासका लागि स्पष्ट नीति र कार्यक्रम ल्याउने उम्मेदवारलाई समर्थन गर्ने बताए । उनले मल, सिँचाइ, सडक र बजारजस्ता आधारभूत आवश्यकता पूरा गर्ने उम्मेदवारलाई मत दिने योजना रहेको बताए ।
म्याग्दीमा राजनीतिक दल तथा स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवारहरू घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गर्दै आफ्ना योजना सार्वजनिक गरिरहेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले विकास र सुशासनलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए । नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले जिल्ला विकास र जनचाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुनबहादुर थापाले अधुरा विकास योजना पूरा गर्ने आफ्नो प्राथमिकता रहेको बताए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनले पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कामलाई प्राथमिकता दिने बताएका छन् ।
व्यवसायी शिव पौडेलले उम्मेदवारका प्रतिबद्धताको कार्यान्वयनको आधार देखेमा मात्रै मत दिने बताए । बेनीकी युवा मतदाता अङ्गिता पुनले युवालाई देशमै अवसर दिने योजना भएका उम्मेदवारलाई मात्र मत दिने धारणा राखिन् ।
माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु केसीले मतदातामा बढ्दै गएको चेतनाले यसपटक निर्वाचन भावनाभन्दा मूल्यांकनमा आधारित हुने संकेत देखिएको बताए ।
यहाँका मतदाताले कालीगण्डकी करिडोर कालोपत्रे, सडक स्तरोन्नति, खानेपानी, शिक्षा, कृषि प्रवर्द्धन, सुलभ स्वास्थ्य सेवा र रोजगारीलाई निर्वाचनको मुख्य आधार बनाउने बताएका छन् ।
म्याग्दीमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ ८६ हजार ३९७ मतदाता रहेका छन् । जिल्लामा ८२ मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।


