काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानमा र पश्चिममा सामान्य भन्दा दक्षिणतर्फ अवस्थित छ।
अहिले देशभर आंशिकदेखि साधारणतया बदली छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी, मधेस र बागमतीका पहाडी भूभागमा साधारणतया बदली र अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। ती भूभागका केही स्थानमा मध्यम वर्षा र कोशी प्रदेशका पहाड तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।


