काठमाडौं — जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी अधिकांश क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाले जनाएको छ कि आज दिउँसो पनि सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।


