काठमाडौं । देशभर हाल मनसुनी र स्थानीय वायुको प्रभाव रहीरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो सबै प्रदेशमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका विभिन्न भू–भागमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, बाँकी प्रदेशका पहाडी र तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
बुधबार राति पनि सबै प्रदेशमा सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागसँगै मधेश प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशका थोरै स्थानमा समेत वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।


