Sunday, November 8, 2026
Homeसामाचारमौसमी विपदमा सरकारको उपस्थिति: समयमै सूचना प्रवाहले जनधनको क्षति न्यून

मौसमी विपदमा सरकारको उपस्थिति: समयमै सूचना प्रवाहले जनधनको क्षति न्यून

काठमाडौँ — गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो धनजन क्षति पुर्‍याएको थियो। देशभरका राजमार्ग क्षतिग्रस्त बनेका थिए र काठमाडौँ उपत्यकाभित्रका धेरै बस्ती बगेका थिए। दुई सयभन्दा बढी मानिसको ज्यान गएको सो विपद्को घाउ अझै पनि ताजा छ।

यस वर्ष पनि असोज १७ गतेदेखि सुरु भएको निरन्तर वर्षाले त्यही दृश्य दोहोर्याउने अवस्था सिर्जना गर्‍यो। जल तथा मौसम विभागका अनुसार सोमबारसम्म पनि भारी वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। शुक्रबारदेखि शनिबार बेलुकीसम्मको वर्षाले देशभरका मुख्य राजमार्गहरू बाढी र पहिरोका कारण अवरुद्ध भएका छन्, विशेषगरी इलाम र पूर्वपहाडी जिल्लामा मानव क्षति समेत भएको छ।

सरकारको समयमै सूचना र तयारी

गत वर्षको विपद्पछि पुनर्निर्माण कार्य पूरा हुन नपाउँदै यस वर्ष पुनः मौसमी विपद्को सामना गर्नुपरेको छ। तर, यस पटक सरकारले समयमै पूर्वसूचना प्रवाह र तयारीमा सक्रियता देखाएको छ।

जल तथा मौसम विभागले असोज १७ देखि २० गतेसम्म भारी वर्षा हुने प्रक्षेपण गर्दै तीन दिनअघि नै नागरिकलाई एसएमएसमार्फत उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। सरकारले यस पटक नागरिकलाई समयमै सचेत गराउँदै अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न सन्देश जारी गर्‍यो।

तराई क्षेत्रमा अन्नबाली सुरक्षाका लागि पनि सरकारले सूचना जारी गर्दै पाकेका बाली तत्काल उठाएर सुरक्षित गर्न आग्रह गरेको थियो। लामो दूरीका राजमार्गमा रातिको यात्रा रोक्ने निर्णयले सम्भावित जोखिम घटाउन सहयोग पुर्‍याएको छ।

केन्द्रदेखि स्थानीय तहसम्म एकरूप सूचना प्रवाह

प्रधानमन्त्री कार्यालयदेखि स्थानीय तहसम्म एउटै ढाँचामा सूचना प्रवाह गरिएको थियो। मोबाइल फोनमा पनि बाढी र पहिरो सम्बन्धी चेतावनी सन्देश बजाइयो। मिडियाले निरन्तर अपडेट प्रदान गर्दै नागरिकलाई सचेत गराउने भूमिका निभायो।

स्थानीय प्रशासनहरूलाई पनि सतर्क रहन र तयारी अवस्थामा रहन निर्देशन दिइएको थियो। यसले ग्रामीण क्षेत्रसम्म सूचना प्रभावकारी रूपमा पुग्न मद्दत गर्‍यो। आम नागरिकले सरकारको यस सक्रियतालाई सराहना गर्दै सामाजिक सञ्जालमा धन्यवाद व्यक्त गरिरहेका छन्।

प्रधानमन्त्री र मन्त्रीहरूको प्रत्यक्ष संलग्नता

प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरू निरन्तर संलग्न देखिए। प्रधानमन्त्री कार्कीले भिडिओ सन्देशमार्फत नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै उद्धार र राहतमा सक्रिय हुन सरकारी निकायहरूलाई निर्देशन दिइन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले विपद्–सम्बन्धी निकाय र सुरक्षा संस्थाहरूसँग निरन्तर समन्वय गरी जानकारी लिए र जनतालाई सुरक्षित रहन अपिल गरे। सरकारले आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा घोषणा गरेर नागरिकको सुरक्षालाई प्राथमिकता दियो।

फिल्डमा सरकारको उपस्थिति

सरकारले स्थानीय तह र सुरक्षा निकायहरूलाई फिल्डमा सक्रिय राख्यो। जोखिमयुक्त क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीले माइकिङ गर्दै नागरिकलाई सुरक्षित स्थानमा सार्न सहयोग गरे। काठमाडौँ महानगरपालिकाले बागमती करिडोरका जोखिमयुक्त बस्तीहरूलाई सुरक्षित विद्यालयहरूमा सार्‍यो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरका मुख्य सडकहरूमा सवारी साधन होल्ड गर्ने र यात्रुलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था गर्‍यो।

ऊर्जा मन्त्री कुलमान घिसिङ स्वयं उपत्यकाका विभिन्न क्षेत्र घुमी निरीक्षणमा निस्किए भने विपद् व्यवस्थापन प्राधिकरणले बाढी र पहिरोले पारेको क्षतिको विस्तृत विवरण सार्वजनिक गर्‍यो।

यस वर्षको विपद् व्यवस्थापनमा सरकारको समयमै सूचना प्रवाह, तयारी र फिल्ड–स्तरको सक्रियतालाई जनताले “सचेत र जिम्मेवार सरकार” को संकेतका रूपमा लिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका